Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन करोड ७३ बराबरको खाद्यवस्तु नष्ट

तीन करोड ७३ बराबरको खाद्यवस्तु नष्ट


काठमाडौं ।
बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब चार करोडबराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा तीन करोड ७३ लाख ८४ हजार मूल्यबराबरको म्याद समाप्त भएका खाद्य वस्तु नष्ट गरेको हो ।

विभागले ११ महिनामा देशभर रहेका विभिन्न एक हजार ६६ व्यावसायिक फार्मको अनुगमन गरिएको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईँका अनुसार उक्त अवधिमा विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नौ सय ९० फार्मलाई कारवाही गरिएको छ । विभागको उक्त फार्मलाई कारबाहीस्वरुप जरिवाना गरी दुई करोड २८ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । हालसम्ममा विभागले दुई हजार आठ सय २४ वटा व्यापारिक फार्मलाई अनुगमन गरेको जनाएको छ ।

उक्त अनुगमन गरेकामध्ये ३५ फार्मलाई उपभोक्ता संरक्षण ऐनविपरीत कारोबार गरेको भन्दै कारोबार रोक्का गरेको छ । यस्तै विभागअन्तर्गत रहेका शाखा कार्यालयले ११ महिनाको अवधिमा २ सय ६९ फार्मलाई कारबाही गर्दै जरिवाना गरेको छ । विभागको तथ्यांकअनुसार मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलाली गरी पाँचवटा शाखा कार्यालयले ११ महिनामा एक हजार छ सय नौ फार्मको अनुगमन गरेको छ ।

अनुगमन गरिएका फार्ममध्येमा छ सय १२ फार्म सामान्य अवस्थामा रहेको, पाँच सय २९ फार्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको र ४० फार्मलाई आवश्यक कागजातसहित स्पष्टीकरण सोधिएको थियो । यस्तै दुई सय ६९ फार्मलाई जरिवाना गर्दा ७४ लाख ४६ हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै विभागले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको अवधिमा ९७ फार्मलाई कारबाही गरेको छ । बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएपछि उक्त फार्मलाई आर्थिक जरिवाना गरिएको विभागका प्रवक्ता सेढाईँले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा अवधिमा बजार अनुगमनबाट विभागले १३ लाख ९६ हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ ।

उक्त अवधिमा विभागले दुई सय तीन फार्मको अनुगमन गरेको थियो । त्यसमध्ये एक फार्मको कारोबार रोक्का गरिएको छ भने ३० हजार रुपैयाँ बढीको म्याद समाप्त भएका खाद्य वस्तु नष्ट गरिएको छ । विभागले निषेधाज्ञाको अवधिमा खाद्यान्न तथा स्वास्थ्य क्षेत्र केन्द्रित बजार अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया