Techie IT
×
गृहपृष्ठbreakingकोरिया रोजगारी अनिश्चित बन्दै

कोरिया रोजगारी अनिश्चित बन्दै


काठमाडौं ।
विदेशी कामदार भित्र्याउने विषयमा दक्षिण कोरियाली सरकारले उचित निर्णय नगर्दा कोरिया जानका लागि बसेका नेपाली युवाहरु प्रभावित बनेका छन् । पछिल्लो समय कामदार भित्र्याउने विषयमा रोजगार तथा श्रम मन्त्रालयअन्तर्गत रहेको मानव संशोधन विकास सेवा (एचआरडी) ले स्वास्थ्य मन्त्रालयसँग छलफल गरे पनि कोरिया रोजगारी भने खुला हुन सकेन जसले गर्दा नेपाली युवाहरु प्रभावित बन्न पुगेका हुन् ।

हाल भने नेपालमा फैलिएको कोभिड महामारीकै कारणले गर्दा नेपालीहरुलाई कोरियाको रोजगारी खुला गर्ने पक्षमा कोरियाका अधिकारीहरु नै नरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । भाषा परीक्षा पास गरेर बसेका युवाहरु कोभिडकै कारणले गर्दा कोरिया जानबाट वञ्चित हुनपुगेका मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

अहिलेको परिस्थितिमा युवाहरु कहिलेदेखि कोरिया जान पाउँछन् भन्ने बताउन गाह्रो भएको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखा, ग्वार्कोले जनाएको छ । यसअघि अर्थात् नेपालमा कोरोना संक्रमण दर न्यून हुँदा विदेशी कामदारको मागको विषयमा भने नेपाली पक्षलाई पनि जानकारी गराउँदा युवाहरु कोरिया जान पाउने वातावरण तयार हुन्छ भन्ने आशा जगाएको शाखाका अधिकारीहरुले बताएका थिए ।

कोरियाले विदेशी कामदार भित्र्याउने क्रममा कोरोनाको जोखिम कम भएका मुलुकलाई प्राथमिकता दिने प्रबल सम्भावना रहेको छ भने रोजगारीको खुला भएको अवस्थामा भने विदेशी कामदारले कोरोना स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण अपनाउनुपर्ने बताउँदै आएको छ ।

कोरोना संक्रमणको जोखिमलाई उच्च प्राथमिकतामा राख्दा नेपाली युवाहरु कोरिया जान नपाएको शाखाका अधिकारीहरुको भनाइ छ । यता कोरिया संघर्ष समितिले सरकारले कोरिया रोजगारीमा देखा परेको समस्या समाधान गर्ने भनी अभिव्यक्ति सार्वजनिक गरे पनि त्यसतर्फ कुनै कदम नचालिएको बताएको छ ।

कोरिया रोजगारीमा आकर्षक तलबका कारण युवाहरु आकर्षित हुने गरेका छन् । युवाहरुले मासिक एक लाख ५० हजार तलब बुझ्ने तथा थप समय काम गरेबापत तीनदेखि चार लाख रुपैयाँसम्म पाउने हुँदा उनीहरु कोरियाको रोजगारीमा आकर्षित भएको पाइन्छ ।

कोरियाले विशेष गरी कृषि क्षेत्रमा र त्यसपछि भने उद्योग क्षेत्रका लागि विदेशी कामदार भित्र्याउने बताइरहेको थियो तर कोरोनाको कारण त्यसलाई निरन्तरता दिन सकेन । त्यस्तै, नेपाली पक्षले भने रोष्टरमा रहेका युवाहरुको लागि म्याद थप गर्न कोरियाली पक्षसँग आग्रह गरेको छ । भाषा परीक्षा पास गरेर रोष्टरमा रहेका करिब ११ हजार जना युवाहरुको म्याद थप गर्न कोरियाली पक्षसँग आग्रह गरेको हो । सन् २०२१ को लागि कोरियाले ५२ हजार जना विदेशी कामदार भित्र्याउने तयारी गरेको थियो । 


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया