Techie IT
×
गृहपृष्ठbreakingनिर्धारित समयमा बिक्री भएन बचतपत्र

निर्धारित समयमा बिक्री भएन बचतपत्र

राष्ट्र बैंकद्वारा ५० करोडको वैदेशिक रोजगार बचतपत्रको बिक्री अवधि थप


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले जेठ १३ गतेबाट ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको थियो । राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागअन्तर्गत वैदेशिक रोजगार बचतपत्र २०८३ (पाँच वर्षे)को बिक्री खुल्ला गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद अवधि यही असार ३ गतेसम्म तोकिएको थियो । निष्काशन मिति २०७८ असार ८ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति भने २०८३ असार ८ गते तोकिएको थियो । तर तोकिएको अवधिमा उक्त बचतपत्र बिक्री नभएपछि राष्ट्र बैंकले उक्त बचतपत्रको बिक्री अवधि थप गरी यही असार १८ गतेसम्म कायम गरेको छ । सोहीअनुरुप उक्त बचतपत्रको निष्काशन मिति २०७८ असार २३ गते र सावाँ भुक्तानी अवधि २०८३ असार २३ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंंकका अनुसार वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिकरुपमा हुने छ । यो बचतपत्र देशबाहिर रोजगारीमा संलग्न वा देशबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यहरु अर्थात् बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । बचतपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभुु बैंकसमेतका १२ वटा बिक्री एजेन्टहरु नियुक्त गरिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ६९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्नेछ । राष्ट्र बैंकका अनुसार पछिल्लो पटक अर्थात् गत बिहीबार खुल्ला भएको वैदेशिक रोजगार बचतपत्रको बिक्री भने सोही लक्ष्यअन्तर्गतको हो । (आर्थिक दैनिकबाट)

Open Photo


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया