Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेटिङमा सामान जाँचपास हुँदा भन्सारले राजस्वको लक्ष्य भेट्न मुस्किल

सेटिङमा सामान जाँचपास हुँदा भन्सारले राजस्वको लक्ष्य भेट्न मुस्किल


विराटनगर ।
राजस्व संकलनको मुख्य जिम्मेवारी पाएको विराटनगर भन्सार कार्यालयले विगतको एक वर्षदेखि कुनै महिना पनि लक्ष्यअनुसारको राजस्व संकलन गर्नसकेको छैन । भन्सार प्रमुखदेखि भन्सार कर्मचारी समेतको अक्षमताका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको कतिपयको भनाइ छ । संघीय सरकारको निर्देशनअनुसारको राजस्व संकलन गर्ने जिम्मेवारी बोकेको विराटनगर भन्सार कार्यालयले विगत एक वर्षदेखि नै राजस्व संकलनमा वृद्धि गर्न नसकेको हो । त्यसमा पनि सरकारले आफैं बजेटमा अनुमान गरेको लक्ष्य त झनै भेटिएकै छैन ।

प्रदेश १ राजधानीमै रहेको विराटनगर भन्सार कार्यालयले गएको वर्ष पनि कोरोनाको प्रभाव भन्दै राजस्व संकलन गर्न पछि परेको थियो । अहिले फेरि विराटनगर भन्सार उही कोरोनाको बहाना बनाएर राजस्व संकलनबाट उम्किन प्रयासरत रहेको बताइन्छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारीलाई लक्ष्यअनुसार राजस्व उठाउनका लागि कुनै पनि पहल नै नगरेको आरोप लाग्न थालेको छ ।

भन्सार प्रमुख भण्डारी र भन्सार अधिकृत निर्माण भट्टराईको विवादित कार्यशैलीका कारण ठूलो कारोबार गर्ने संस्थाहरूले विराटनगर भन्सारनाका नै परिवर्तन गरी विरगञ्ज र मेची भन्सार नाका स्थानान्तरण भएपछि विराटनगर भन्सारको राजस्व संकलनमा व्यापक कमी हुनपुगेको हो । कोभिड १९ को महामारीका कारण राजस्व न्यून संकलन भएको भनिए पनि भन्सार राजस्व वृद्धिको आधारमा भने खासै फरक नभएको बताइएको छ । यो वर्ष पनि कोरोना महामारीका कारण वैशाख दोस्रो सातादेखि मोरङ जिल्लाका अधिकांश भागमा निषेधाज्ञा लागू भएको छ । जुन निषेधाज्ञा अहिलेसम्म पनि कायम रहेको छ ।

निषेधाज्ञाका बीचमा नै भन्सार एजेन्ट र भन्सार कर्मचारीको बीचमा सेटिङ भएर भन्सार जाँचपास भएको सामानसहित प्रहरीले आवश्यक कारबाहीका लागि राजस्वमा बुझाउँदा समेत कारबाही नै नगरी राजस्वले सामान छोडेपछि पछिल्लो समय इटहरी राजस्व प्रमुख र भन्सार प्रमुखका बीचमा समेत व्यापक सेटिङ भएको रहस्य बाहिरिएको छ । त्यसैगरी भन्सार अधिकृत निर्माण भट्टराई र भन्सार प्रतिनीधि अनिल पोद्दारबीचको गहिरो अन्तरङ्ग सम्बन्ध पनि बाहिरिएको छ ।

केही दिनअघि भन्सार अधिकृत निर्माण भट्टराईले भन्सार प्रतिनिधि पोद्दारको बा.१८प ७३६३ नम्बरको सुजुकी गाडी दुर्घटना गराएपछि दुवैका बीचमा रहेको अन्तरङ्ग सम्बन्ध खुलेको भन्सार स्रोतले बताएको छ । भन्सार अधिकृत भट्टराईले गाडी दुर्घटना गराएपछि पोद्दार र भट्टराईबीच पनि पछिल्लो समय सम्बन्ध चिसिन पुगेको छ । भन्सार प्रमुख भण्डारी, भन्सार अधिकृत भट्टराई र भन्सार प्रतिनिधि अनिल पोद्दारका बीचमा गहिरिएको सम्बन्धका कारण विराटनगर भन्सारको राजस्वमा व्यापक गिरावट र सेटिङको भन्सार जाँचपास मौलाएको पछिल्लो समय चर्चाको विषय बन्न पुगेको छ ।

कोभिड १९ का कारणले विराटनगर भन्सारलाई राजस्व संकलनमा खासै असर नपर्ने सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीको दाबी रहेको छ । सुनसरी मोरङ औद्योगिक करिडोर औद्योगिक क्षेत्र भएका कारण विराटनगर भन्सार परिसरबाट आयात हुने औद्योगिक कच्चापदार्थको आयातमा कुनै कमी आएको छैन । तर विराटनगर भन्सारले महामारीको बहाना बनाएर राजस्व संकलनमा कमी आएको भन्ने टिप्पणी हास्यास्पद मात्र भएको व्यवसायीको दाबी रहेको छ ।

विराटनगर भन्सारले पछिल्लो समय अपनाएको कार्यशैलीका कारण र भन्सार प्रमुख र भन्सार अधिकृतसम्म सबै सेटिङमा काम गर्ने गरेका कारण राजस्व वृद्धिमा भन्दा पनि व्यक्तिगत लाभहानि हाबी भएपछि भन्सार राजस्व नै गुम्न पुगेको व्यवसायीको दाबी छ । व्यवसायीहरूले भन्सार नाका नै परिवर्तन गरी अन्य भन्सार नाकाबाट सामान आयात गर्ने क्रम पछिल्लो समय धेरै बढेको उद्योगी तथा व्यवसायीको नै भनाइ छ ।

भन्सार कर्मचारीमा देखिएको पदलोलुप्ता र व्यक्तिगत मनोकांक्षाका कारण दैनिक विराटनगर भन्सारको राजस्व संकलनमा प्रभाव परेको उनीहरूले बताएका छन् । कार्यालय प्रमुख भण्डारीले कार्यक्षमता प्रदर्शन गर्न नसक्दा भन्सार अधिकृत भट्टराईको सेटिङ डरलाग्दो रूपमा फैलिएको बताइएको छ । यसले दैनिकरूपमा विराटनगर भन्सारमा बढ्दै गएको मनोमानीका कारण पछिल्लो समय भन्सार नै विवादित बनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया