Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडेनमार्क र आयरल्यान्डबाट स्वास्थ्य सामग्री प्रदान

डेनमार्क र आयरल्यान्डबाट स्वास्थ्य सामग्री प्रदान


काठमाडौं ।
डेनमार्क र आयरल्यान्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । युरोपियन युनियन (ईयु) सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न डेनमार्क र आयरल्यान्डले नेपाललाई सहयोग पु-याउन उक्त सामग्री उपलब्ध गराएका हुन् ।

डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा २६ वटा भेन्टिलेटर, ५० वटा नासल अक्सिजन क्यानल्स, ९६ हजार फेस शिल्ड, ९२ हजार गाउन र ९२ हजार एफएफपीटु मास्क रहेका छन् । ती सामग्रीहरु बिहीबार पहिलो चरणमा ल्याइएको थियो भने बाँकी सामग्री शनिबार ल्याइएको हो । यस्तै आयरल्यान्डले पनि ७२ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ वटा बीपीएपी एयर फ्लो मेसिन, ४४ वटा भेन्टिलेटर, चार सयवटा पल्स अक्सिमिटर, ५० वटा रेस्पिरेटरी मोनिटर, ५० वटा डिफिब्रिलेटर, १०० वटा थर्मामिटर, सात सय २८ वटा अक्सिजन रेगुलेटर, तीन सय ९८ एयर रेगुलेटर, दुई लाख एक हजार छ सयवटा फेस शिल्ड र १० लाख आठ हजार सर्जिकल मास्क उपलब्ध गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई ईयुकी राजदूत नोना डेप्रे र नेपालका लागि डेनमार्कका महावाणिज्यदूत हरि धरेलले हस्तान्तरण गरेका थिए । यो सहयोग नेपाल सरकारबाट सहयोगका लागि पछिल्लोपटक आह्वान भएपछि प्रदान गरिएको हो । सो अवसरमा मन्त्री तामाङले कोभिड १९ विरुद्ध लड्दै गरेको नेपाललाई ऐक्यबद्धतास्वरुप आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने ईयूका सदस्य राष्ट्रहरुप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा ईयूकी राजदूत डेप्रेले ईयूको सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको बताइन् । उनले भनिन्, ‘महामारीको सुरुवातदेखि नै ‘टिम युरोप’ नेपालसँगै उभिएको छ र यस किसिमको सहयोग गर्न हामी तयार छौँ । सबै जना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन ।’

महावाणिज्यदूत धरेलले दुई देशबीच लामो समयदेखि मैत्री सम्बन्ध रहिआएको र नेपालको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको डेनमार्कले विगतका प्राकृतिक विपद्का समयमा पनि सहयोग गरेको र यसपटक पनि कोभिडविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराइदिएकामा डेनमार्क सरकारप्रति आभार व्यक्त गरे । यसअघि स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम र जर्मनी, स्लोभेनिया, अष्ट्रिया र माल्टा पनि नेपाललाई विभिन्न चिकित्सा सामग्री सहयोग गरिसकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया