Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ खर्ब ३० अर्ब मात्र चालू खर्च

छ खर्ब ३० अर्ब मात्र चालू खर्च

राष्ट्र बैंक भन्छ– १० महिनामा एक खर्ब १२ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन


काठमाडौं ।
सरकारले चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा कुल छ खर्ब ३० अर्ब २० करोड रुपैयाँ चालू खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार महालेखा नियन्त्रकको कार्यालय समेतको तथ्यांकका आधारमा चालू आवको वैशाख मसान्तसम्ममा चालू खर्च छ खर्ब ३० अर्ब २० करोड, पुँजीगत खर्च एक खर्ब २५ अर्ब ८८ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ६८ अर्ब ७२ करोड गरी कुल आठ खर्ब २४ अर्ब ८१ करोड रुपैयाँ खर्च भएको हो ।

यस अवधिमा सरकारको कर राजस्व सात खर्ब नौ अर्ब ६२ करोड र गैरकर राजस्व ५१ अर्ब ३८ करोड गरी कुल राजस्व गरी कुल सात खर्ब ६१ अर्ब परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा संघीय सरकारले २० अर्ब ५० करोडको ट्रेजरी बिल, ९० अर्बको विकास ऋणपत्र, दुई अर्बको नागरिक बचतपत्र र एक करोड ५३ लाखको वैदेशिक रोजगार बचतपत्र गरी कुल एक खर्ब १२ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको वैशाख महिनासम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति एक खर्ब १२ अर्ब ६८ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ८२ अर्ब हस्तान्तरण गरेको छ । यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट ३० अर्ब ६८ करोड परिचालन गरेका छन् । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च ९४ अर्ब १४ करोड रहेको छ ।

यसैगरी चालू आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा विस्तृत मुद्राप्रदाय १५ दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १० दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय २३ दशमलव चार प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति सात अर्ब ७५ करोड अर्थात् शून्य दशमलव छ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति एक खर्ब २० अर्ब ९० करोड अर्थात् १२ दशमलव तीन प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी चालू आवको पछिल्लो १० महिनाको अवधिमा सञ्चित मुद्रा दुई दशमलव छ प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा दुई दशमलव सात प्रतिशतले घटेकोे थियो । वार्षिक विन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा सञ्चित मुद्रा २६ दशमलव छ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो १० महिनामा कुल आन्तरिक कर्जा १८ दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १० दशमलव पाँच प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा यस्तो कर्जा २२ दशमलव दुई प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २३ दशमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०७८ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २३ दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । (आर्थिक  दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया