Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाढी, पहिरो र डुबानमा परी १८ जनाको मृत्यु, २१ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १८ जनाको मृत्यु, २१ जना बेपत्ता


काठमाडौं ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आइतबारसम्म १८ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकका चार जना, डोटीका तीन जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ र बाजुराका एक÷एक जना रहेका छन् । यस्तै १९ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकका पाँच जना, म्याग्दी र डोटीका तीन/तीन जना, जुम्ला र कास्कीका दुई/दुई जना, स्याङ्जा, चितवन, सल्यान र दार्चुलाका एक/एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको स्थानीय अस्पतालमा भइरहेको छ । बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन् । तीमध्ये १४ जना पुरुष, पाँच जना महिला र दुई जना बालक रहेका छन् ।

बेपत्ता हुनेहरू सिन्धुपाल्चोकका २० जना र बाजुराका एक जना रहेका छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । यस्तै बाढी पहिरोमा परेका सिन्धुपाल्चोकका ९४ जना, सल्यानका आठ जना, दाङका चार जना र कञ्चनपुरका तीन जना गरी एक सय नौ जनाको उद्धार गरिएको छ । पहिरो तथा बाढीले बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण बझाङ, कालिकोट, बैतडीलगायतका स्थानहरूमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण दुई सय १० वटा घर डुबानमा परेका छन् । दुई सय पाँचवटा घर, ११ वटा गोठ, १८ वटा पुल, तीनवटा विद्यालय र आठवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । सात सय ४८ वटा घरका तीन हजार दुई सय ५८ जना मानिस विस्थापित भएका छन् भने छ सय २९ वटा पशु चौपायको मृत्यु भएको छ ।

उक्त घटनाबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरू उद्धारमा सक्रिय रूपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया