Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यक्तिगत, सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई सही हालतमा राख्न योग आवश्यक

व्यक्तिगत, सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई सही हालतमा राख्न योग आवश्यक


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा उनले मानवको शारीरिक स्वास्थ्य मात्र नभई समाजलाई सांस्कृतिक, नैतिक र चारित्रिक रूपले सबल राख्न समेत योग आवश्यक रहेको बताएका हुन् ।

साथै उनले सांस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय समेत रहेको बताए । ‘विभिन्न प्रयासबाट अहिलेको कोभिड १९ त एक/डेढ वर्षमा पार होला तर सामाजिक र सांस्कृतिक अधपतनको महामारीले चल्यो भने कयौ पिढीँसम्म दुःख पाइनेछ’, उनले भने । अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको उनको भनाइ थियो ।

‘सभ्यताको सुरुवात भएको यो भूमिमा अहिले हामी असभ्यताको फागु खेलिरहेका छौं’, उनले भने, ‘भत्किएको धरहरा त दुई वर्षमै बनायौँ तर सांस्कृतिक धरहरा भत्कियोे भने दुई पुस्ता बित्दा पनि बनिसक्दैन ।’ योग गुरुहरूले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्ने उनले बताए । योगका आठ अंगहरूमध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो कुरा पहिलो सत्यप्रतिको निष्ठा र असत्यलाई अस्वीकार गर्नुभएको उनको भनाइ थियो । ‘सत्यमा अडिग रहूँ । सत्यको निष्ठापूर्वक पालना गर असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यसविरुद्ध लड । यमले सही भन्छ’, उनले भने ।

योगबाट असली लाभ लिन अनुशासन, सदाचार र सद्गुण लिने रज, तम गुण क्लेश र खराब वृत्तिलाई परित्याग गर्नुपर्ने उनले बताए । आफ्नो वैधानिक र न्यायिक दाबी पुग्नेबाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने उनको भनाइ थियो । अरस्तुले सत्यकै लागि प्राण त्याग गरेको प्रसङ्ग समेत उल्लेख गर्दै उनले योगको प्रादुर्भाव नेपाली भूमिबाटै सुरु भएका बताए । विश्वव्यापी महामारीको यो समयमा मानिसलाई डिप्रसनमा जान नदिन, आशावादिता र मनोबल बढाउन रहेको भनाइ उनको थियो ।

अब योग सम्बन्धित प्रोटोकल बनाउने र त्यसको परिणाम समेत प्राप्त हुनेगरी व्यवस्थित गर्नु जरुरी रहेको उनले बताए । यसका लागि पाठ्यत्रममा योग शिक्षा राख्ने र योग विद्यालय स्थापना गर्ने तथा सिकाउने अभ्यास गर्नुपर्ने, योगसम्बन्धी उत्प्रेरणा जगाउन सबै खालका मानिसलाई हुने योग शिविर चलाई व्यक्तिअनुसारका आशन सिकाउनुपर्ने उनको भनाइ थियो । योगको विकासका लागि योग साधकहरूसँग मिलेर काम गर्न सरकार तयार रहेको पनि उनले बताए । ‘योग फर वेल विइङ’को नारासहित विश्वभर सोमबार अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया