Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलगानी बोर्डद्वारा दुई ठूला जलविद्युत् आयोजनाका लागि ९७ अर्ब विदेशी लगानी स्वीकृत

लगानी बोर्डद्वारा दुई ठूला जलविद्युत् आयोजनाका लागि ९७ अर्ब विदेशी लगानी स्वीकृत


काठमाडौं ।
लगानी बोर्डले दुई ठूला जलविद्युत् आयोजनाका लागि ९७ अर्ब प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ । लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बोर्डको ४७औँ बैठकले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर र १३९.२ मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको लागि सो रकम स्वीकृत गरेको हो । बोर्डका अनुसार उक्त आयोजनाहरुमा वैदेशिक लगानीको रुपमा सम्पूर्ण लागनी चिनियाँ लगानीकर्ताहरुको रहेको छ ।

बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत् परियोजना (२८५ मेगावाट) र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् परियोजना (१३९.२ मेगावाट) गरी दुईवटा जलविद्युत् परियोजनाको कुल करिब ९७ अर्बबराबरको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री ओलीले जलविद्युत् आयोजनाबारे निर्णय गर्दा त्यससँगै प्रसारणलाइन, त्यसबाट उत्पादित विद्युत्को खपत एवं निर्यातको सम्भावनालाई दृष्टिगत गरेर मात्र गर्न निर्देशन दिएका छन् । ‘विगतमा जुन त्रुटि भए त्यो अब हुन दिनुहुन्न, अन्यथा विद्युत् उत्पादन हुने, हामीले प्रसारणलाइन बनाउन नसक्ने तर पीपीएअनुसार प्रयोग नभएको विद्युत्को पैसा तिर्नुपर्ने अवस्था रहिरहनेछ’, उनले भने ।

यसैगरी सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क (नेपाल–चीन मैत्री औद्योगिक पार्क)को विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौताको लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजना (६७९ मेगावाट)को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता सतलज विद्युत् निगम (एसजेभीएन)सँग गरिने समझदारी–पत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानुनी सुधार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ  ।

साथै, बैठकले पश्चिम सेती र एसआर–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्डसमक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

यसैगरी, बैठकले अरुण ३ जलविद्युत् परियोजना प्रवेश मार्गअन्तर्गत छ्याद्रुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा ’विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिससम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत भएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादन सँगसँगै प्रसारण प्रणाली समेतको निर्माणकार्य अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिए । त्यसैगरी उनले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्  ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेश गरिएका प्रस्तावहरु मुलुकको आर्थिक विकासमा टेवा पु-याउने देखिएको बताउँदै बोर्डका निर्णयहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया