Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहवाई उडान सर्तसहित खुल्यो

हवाई उडान सर्तसहित खुल्यो

सार्वजनिक यातायात पनि खोल्ने तयारी


काठमाडौं ।
करिब दुई महिनापछि नेपालको आर्थिक गतिविधि चलायमान हुन थालेको छ । सरकारले निजी सवारी साधनलाई निश्चित सर्तमा सञ्चालनको अनुमति दिएको छ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सर्तसहित खुला गर्ने निर्णय गरेको छ । हवाई र निजी यातायात खुला गरेको सरकारले अब केही दिनमै सार्वजनिक सवारी पनि सर्तसहित सञ्चालन गर्न दिने तयारी गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक र वाह्य हवाई उडान खोल्ने निर्णय गरेको हो । निषेधाज्ञाको बेलामा पनि निर्माण क्षेत्रमा प्रयोग हुने गाडीहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिइएको थियो । अब निजी सवारी र हवाई उडान खुलेपछि सार्वजनिक यातायात पनि सञ्चालनमा आएपछि आर्थिक गतिविधि सहजतातर्फ उन्मुख हुनेछ ।

सरकारले काठमाडौं उपत्यकामा विभिन्न पसलहरु समय तोकेर खोल्न दिएको छ । जसको कारण मंगलबारदेखि सडक र पसलहरुमा भीड बढेको छ । यद्यपि कुनकुन सामान बिक्री गर्ने पसल कुनकुन बार खोल्न दिने भन्ने सर्त राखिएको छ । हवाई उडानपछि बस व्यवसायीहरुले दबाब दिने भएको कारण सरकारले अर्को साताबाट सर्तसहित सार्वजनिक यातायात सञ्चालन गर्न दिने बारेमा आन्तरिक छलफल गरेको छ ।

सार्वजनिक यातायात सञ्चालनको बारेमा आन्तरिक छलफल भए पनि एक साताको कोरोना संक्रमणको अवस्था हेरेर मात्र यसमा निर्णय लिईने गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् । गृहका एक अधिकारीले भने, ‘यो एक साताको स्वास्थ्य अवस्था हेरेर मात्र यसमा थप निर्णय लिइने छ ।’ सोमबारको मन्त्रिपरिषद् बैठकले हवाई उडान खोल्ने निर्णय गरे पनि आन्तरिक उडानको मिति भने तोकिएको छैन । एक/दुई दिनमै आन्तरिक उडानको मिति तोक्ने तयारी छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटन मन्त्रालयसँगको परामर्शतमा मात्र आन्तरिक उडानको तालिका सार्वजनिक गर्ने छ । सरकारले तोकेकै दिनदेखि हवाई उडान खोल्ने आन्तरिक उडानका विमान कम्पनीहरु तयारी अवस्थामा छन् । निषेधाज्ञासँगै सरकारले आन्तरिक र बाह्य हवाई उडान बन्द गरेको थियो । यद्यपि चार्टर उडान भने सञ्चालनमा थिए । चार्टर उडानको नाममा विमान कम्पनीहरुले मनपरी भाडा असुल्ने काम जारी राखेको बेला सरकारले उडान खोल्दा सर्वसाधारणले ठूलो राहत पाउने छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दोहा रुपटमा नेपाली वायुसेवाका दुई उडान र कतारको वायुसेवाका दुई गरी हप्तामा चार उडान हुनेछ । यस्तै, काठमाडौं स्तानबुल रुटमा टर्कीको वायुसेवाबाट हप्तामा दुई उडान हुनेछ । काठमाडौं–दमाम रुटमा नेपाली वायुसेवा निगमको हप्तामा दुई उडान हुनेछ । काठमाडौं–कुवेत सिटी रुपमा कुवेतको वायुसेवाको हप्तामा दुई उडान हुनेछ ।

यस्तै, काठमाडौं–मस्कट रुटमा ओमानको वायुसेवाबाट हप्तामा एक उडान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । काठमाडौं–क्वाललम्पुर रुटमा नेपाली वायुसेवाको दुई उडान र मलेसियाको वायुसेवाको दुई गरी चार उडान प्रत्येक हप्त गरिनेछ । काठमाडौं–सियोल रुटमा हप्ताको एक उडान कोरियन वायुसेवाको विमानबाट हुनेछ । काठमाडौं–टोकियो रुटमा नेपाली वायुसेवाको एक उडान हप्ताको एक पटक मात्र हुनेछ । काठमाडौं–छेन्दु र काठमाडौं–ग्वाङजाओ रुटमा नेपाली वायुसेवाको एक÷एक र चीनको वायुसेवाको एक÷एक गरी सातामा दुई/दुई उडान हुनेछ ।

उक्त उडानको कारण नेपाली श्रमिकहरुले धेरै लाभ लिने अपेक्षा गरिएको छ । ती रुटमा विमान सञ्चालनको अनुमति नहुँदा चार्टर उडानको नाममा नेपालीहरुले महंगो भाडा तिर्नुपरेको थियो । नेपाली कामदारले चार्टर उडानमा धेरै पैसा तिर्नु परेपछि सरकारले सीमित मात्रामा निश्चित सर्त पालना गर्ने गरी हवाई उडान सञ्चालनको अनुमति दिएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सञ्चालन हुँदा आर्थिक गतिविधिमा तीब्रता आउनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया