Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमिलेमतोमा करछुट दिने शर्मासहित तीन जनाविरुद्ध मुद्दा दायर

मिलेमतोमा करछुट दिने शर्मासहित तीन जनाविरुद्ध मुद्दा दायर

१ अर्ब ३३ लाख छुट दिएको आरोप


काठमाडौँ ।
व्यक्तिसँग सम्झौता गरी बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ कर बक्यौतालाई करछुट दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार कर फर्छ्योट आयोग, २०७१ को नाममा उक्त बक्यौता करछुट दिइएको हो । लुम्बध्वज महत आयोगको अध्यक्ष र उमेशप्रसाद ढकाल सदस्य थिए भने शर्मा सचिव थिए । आयोगले कर फर्छ्योट आयोग, २०३३ ले दिएको अधिकार क्षेत्रभन्दा बाहिर गई बदनियतपूर्वक करदाताहरुसँग सम्झौता गरी छुट दिएका थिए । उनीहरुले सम्झैता नगरी करछुट नदिएको भए उक्त रकम नेपाल सरकारको खातामा जम्मा हुने थियो ।

अख्तियारका अनुसार आयोगका तीन जनाले कर फर्छ्योट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्यसम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पु-याउने काम गरेका थिए । अख्तियारले आयोगको उक्त बदनियतपूर्ण कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ७ र दफा ७ को (क) मा परिभाषित कसुर गरेको पुष्टि भएको दाबी गरेको छ । अख्तियारले उनीहरुलाई कैद र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार आयोगले ३० अर्ब ५२ करोड रुपैयाँको कर फर्छ्योट गर्दा नौ अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्यकोषमा दाखिला भएको छ । उक्त आयोगले अरु रकम भने अनियमित तरिकाले मिनाहा गरेका थिए । आयोगका अनुसार झण्डै ६९ प्रतिशत रकम राज्यकोषबाट गुम्नपुगेको छ । आयोगको निर्णयको कारण ३१ प्रतिशत राजस्व मात्र राज्यकोषमा जम्मा भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया