Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबौद्धिक सम्पत्तिको नक्कल गर्दा विवाद कायमै

बौद्धिक सम्पत्तिको नक्कल गर्दा विवाद कायमै


काठमाडौं ।
मानिसको विचार मानवीय विवेकको सिर्जना मानिने बौद्धिक समपत्तिसम्बन्धी विवाद उद्योग तथा व्यावसायिक क्षेत्रमा कायमै रहेको पाइन्छ । नेपाली उत्पादनकर्ताहरूले अन्य मुलुकमा उत्पादित बौद्धिक सम्पत्तिको नक्कल गर्दा यसको विवादले निरन्तरता पाएको पाउन सक्छौँ । नेपाली उत्पादनकर्ताले अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको ब्रान्डको नक्कल गरेकै कारण उद्योग विभागमा बौद्धिक सम्पत्तिसम्बन्धी उजुरीको चाङ रहेको बताइएको छ ।

बौद्धिक सम्पत्ति पाँँच आर्थिक वर्ष (२०७३/७४ देखि ०७७/७८) मा ३६ सय ५८ वटा उजुरी विभागसमक्ष परेकोमा सात सय ५७ निर्णय भइसकेको पाइन्छ । उजुरी परेकामध्ये सबैभन्दा बढी ट्रेडमार्क नक्कल रहेको बताइएको छ । त्यस्तै सोही अवधिमा २७ सय ६४ वटा उजुरीको निर्णय गर्न बाँकी रहेको विभागले जानकारी दिएको छ ।

चालू आर्थिक वर्ष (२०७७/७८) मा बौद्धिक सम्पत्ति चोरी गरेको भन्दै सात सय २४ वटा उजुरी परेको छ । विभागले चालू आर्थिक वर्षमा ५७ वटा उजुरी फछ्र्यौट गरेको छ भने छ सय ६७ वटा उजुरीको सुनवाइ गर्न बाँकी रहेको जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका ब्रान्डको सबैभन्दा बढी ट्रेडमार्क नक्कल गर्ने गरेको पाइन्छ भने त्यसपछि लोगो र डिजाइनहरू नक्कल गर्ने गरेको विभाका अधिकारीहरूको भनाइ रहेको छ ।

आर्थिक वर्ष ०७६/७७ मा सात सय १३ वटा उजुरी परेकोमा ३६ वटा निर्णय भएको तथा पाँच सय ३६ वटा उजुरी छिनोफानो गर्न बाँकी छ । आर्थिक वर्ष ०७५/७६ मा आठ सय १३ वटा उजुरी परेकोमा दुई सय ७७ वटा निर्णय भएको तथा पाँच सय ३६ वटा उजुरी छिनोफानो गर्न बाँकी छ । आर्थिक वर्ष ०७४/७५ मा सात सय ६५ वटा उजुरी परेकोमा दुई सय ७० वटा निर्णय भएको तथा चार सय ९५ वटा उजुरी छिनोफानो गर्न बाँकी रहेको तथा आर्थिक वर्ष २०७३/७४ मा छ सय ४३ वटा उजुरी परेकोमध्ये एक सय १७ वटा निर्णय भएको तथा पाँच सय ३० वटाको विवाद सुल्झाउन बाँकी रहेको छ ।

समयमै उजुरीको टुगो नलग्दा पीडित पक्षहरू थप पीडामा पर्ने गरेको पाइन्छ । अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको ब्रान्डको नक्कल गर्दा नक्कली उत्पादनहरूले बजार ओगट्ने गरेको पाइन्छ जसले गर्दा वास्तविक उत्पादन नेपाली बजारमा ल्याउन समेत कठिन हुने गरेको पाइन्छ ।

विभागमा उजुरी आएसँगै सो विषयमा अनुसन्धान तथा निर्णय गर्ने अधिकार भने विभागको महानिर्देशकलाई दिएको छ । विभागमा परिसरमै बौद्धिक सम्पत्ति नक्कलको महानिर्देशकको उपस्थितिमा छलफल, सुनवाइ हुन्छ भने महानिर्देशकले नै निर्णय गर्ने गरेको पाइन्छ । विभागको निर्णय चित्त नबुझेको खण्डमा भने अदालत जान सक्नेछन्  ।

विदेशी कम्पनीहरूले आफनो ट्रेडमार्क, लोगो तथा डिजाइन नेपाली उत्पादनकर्ताहरूले नक्कल गरेको भन्दै विभागमा उजुरी दिने गरेको पाइन्छ । नेपाली व्यवसायीले आफ्नो उत्पादन छिटोभन्दा छिटो आम नागरिकले उपभोग गरुन् भन्ने उद्देश्यका साथ सो काम गरेको विभागका अधिकारीहर बताउँछन् । बौद्धिक सम्पत्ति नक्कल तथा चोरी गरेमा कैद तथा जरिवाना गर्ने समेत अधिकारको व्यवस्था गरिएको छ । नेपालमा प्याटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२, प्रतिलिपि अधिकार ऐन, २०५९ तथा प्रतिलिपि अधिकार नियमावली, २०६१ प्रचलनमा रहेको छ ।

यद्यपि, पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंक तथा वित्तीय संस्थाले बौद्धिक सम्पत्तिलाई धितोको रुपमा स्वीकार गरी अघि बढ्नुपर्ने बताएको छ । बैंक तथा वित्तीय संस्थाले बौद्धिक सम्पत्तिलाई धितोको रुपमा स्वीकार गरी व्यावसायिक कार्यको लागि ऋण दिने व्यवस्था गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयअन्तर्गत उद्योग विभागले औद्योगिक सम्पत्तिसम्बन्धी काम कारबाहीलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । प्रतिवेदनमा औद्योगिक सम्पत्तिसम्बन्धी काम कारबाहीलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सम्बन्धमा नीतिगत तथा कानुनी सुधार, संरचनागत तथा संस्थागत सुधार, प्रक्रियागत तथा व्यवस्थापकीय सुधार, अनुगमनमा तथा अन्य क्षेत्रमा सुधार गर्नुपर्ने भनी व्याख्या गरेको पाइन्छ । अध्ययनलाई आधार मान्ने हो भने नेपाली उत्पादनकर्ताहरूले आफ्नो बौद्धिकताको प्रयोग गरी विभिन्न वस्तु तथा सामग्रीहरू उत्पादन गरी त्यसलाई मुलुकका साथै विश्वमा पु¥याउन सक्नु जरुरी छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया