Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाना र मझौला कम्पनीको कसरी हुन्छ छुट्टै सेयर कारोबार ?

साना र मझौला कम्पनीको कसरी हुन्छ छुट्टै सेयर कारोबार ?


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरूको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्ल्याटफर्मको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)सँग सुझाव माग गरेको छ ।

बोर्डका अनुसार एसएमई कार्यक्रम कार्यान्वयन गर्न नेप्सेमा सूचीकरण भएका तथा आगामी दिनमा सूचीकरण हुने साना तथा मझौला आकारका कम्पनीहरूको लागि उक्त कम्पनीहरूको चुक्ता पुँजी र बजार पुँजीकरणको आधारमा नेप्सेको छुट्टै कक्षमा सूचीकरण तथा कारोबार हुने गरी एसएमई प्ल्याटफर्मको व्यवस्था गरी कार्यान्वयनमा ल्याउन आवश्यक पूर्वाधार र कानुनी प्रावधान सम्बन्धमा छिमेकी देशलगायत विश्वका अन्य देशहरूको धितोपत्र बजारमा यस सम्बन्धमा अवलम्बन गरिएका असल अभ्यासहरूको समेत पुनरवलोकन तथा नेपालको साना तथा मझौला उद्योगलगायत औद्योगिक क्षेत्र तथा दोस्रो बजारको हालको अवस्था समेतको समीक्षा गरी बोर्डद्धारा प्रारम्भिक अध्ययन गरिएको थियो ।

सो अध्ययन प्रतिवेदनको सिफारिसअनुरुप कार्यान्वयनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन नेप्सेबाट गर्नुपर्ने तयारी तथा पूर्वाधारका सम्बन्धमा नेप्सेसँग राय/सुझाव माग गरी अगाडि बढ्न उपयुक्त हुने देखिएकाले सोहीबमोजिम नेप्सेसँग बोर्डबाट यही असार ८ गते सुुझाव माग गरिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

प्रवक्ता गिरीका अनुसार नेपालको धितोपत्र बजारमा साना तथा ठूला पुँजीकरण भएका कम्पनीहरूले एकै किसिमको व्यवस्थाअन्तर्गत पुँजीको संकलन तथा परिचालन गर्ने गरिरहेका छन् ।

सो व्यवस्थाका कारण साना तथा ठूला कम्पनीहरूको आवश्यकताअनुरुप वित्तीय औजार विकासमा कठिनाइ भई नेपाल सरकारको नीतिअनुरुप पुँजीबजारमार्फत प्राथमिकताका क्षेत्रमा पुँजी परिचालन गर्ने कार्यक्रम निर्धारण तथा कार्यान्वयन गर्न समस्या देखिएको, बजारलाई व्यवस्थित गर्न बोर्डलाई आवश्यक नीतिगत लचकताको कमी हुनसक्ने देखिएको तथा सबै प्रकारका कम्पनीहरू एकै प्लेटफर्ममा सूचीकरण भई कारोबार हुँदा धितोपत्र सूचकांकहरूले बजारको यथार्थ प्रतिनिधित्व नगरेको कुराको मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्डको आ.व. २०७७/०७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको बुँदा नं. १३ मा साना तथा मझौला कम्पनीहरूको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्ल्याटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सहजीकरण गर्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार नै एसएमई कारोबारको व्यवस्था गर्न आवश्यक राय/सुझाव माग गरिएको प्रवक्ता गिरीको भनाइ छ ।

न्यूनतम मूल्य परिवर्तन सीमा निर्धारण : नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्रको मूल्य र धितोपत्र कारोबारमा न्यूनतम मूल्य परिवर्तन सीमा निर्धारण गरेको छ । बोर्डका अनुसार सेयरबजारमा हुने अस्वाभाविक उतारचढावलाई रोक्न दुुवै मूल्यबीच सीमा निर्धारण गरिएको हो ।

दोस्रो बजारको प्रारम्भिक कारोबार सत्रमा हाल मूल्य परिवर्तन सीमा पाँच प्रतिशत रहेकोमा सो सीमालाई घटाई न्यूनतम मूल्य परिवर्तन सीमा दुुई प्रतिशत कायम गरिएको धितोपत्र बोर्डले जानकारी दिएको छ । यसैगरी दोस्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रुपैयाँ रहेको सोलाई घटाई १० पैसा कायम गर्ने गरी बोर्डले धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली २०७८ स्वीकृत गरेको छ । यो व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यान्वयनमा ल्याउने बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार प्रारम्भिक कारोबार सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वाभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने भएकाले उक्त सत्रमा हुुने गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको हो । छिमेकी देशलगायत अन्तर्राष्ट्रिय असल अभ्यासअनुरुप हुुने गरी धितोपत्र कारोबारको न्यूनतम मूल्य सीमालाई परिवर्तन गरिएको र यसबाट खरिदकर्ता र बिक्रीकर्ताले प्रतिस्पर्धी मूल्यमा धितोपत्र खरिदबिक्री गर्न सक्नुका साथै कारोबारमा समेत वृद्धि हुुने बोर्डले जानकारी दिएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएपश्चात् प्रारम्भिक कारोबार सत्र थप व्यवस्थित हुुने र न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुुँदा लगनीकर्ताहरूले प्रतिस्पर्धी मूल्य प्राप्त गर्नसक्ने र यसबाट दोस्रो बजार कारोबार थप लगानीकर्ता मैत्री हुुने अपेक्षा गरेको जानकारी पनि बोर्डले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया