Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभूकम्पपीडितहरूलाई निजी आवास निर्माण गर्न कात्तिक मसान्तसम्मको समयसीमा

भूकम्पपीडितहरूलाई निजी आवास निर्माण गर्न कात्तिक मसान्तसम्मको समयसीमा


काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म निजी आवास निर्माण गर्न नसकेका भूकम्पपीडितहरूलाई कात्तिक मसान्तसम्मको समयसीमा दिने भएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको समितिको १९औं बैठकले कोभिड १९ महामारीलगायतका कारणले पीडितले दोस्रो र तेस्रो किस्ता नलिइसकेकोले समयसीमा बढाउने निर्णय गरेको हो ।

यसका साथै पुनर्निर्माणका बाँकी कामहरू पनि आगामी आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकभित्र सम्पन्न गरिने भएको छ । २०७२ साल पुस १४ गते गठित समिति आफ्नो कार्यकालको अन्तिम चरणमा रहेको छ । यसअघि प्राधिरकणले आफ्ना सबै कार्य यसै आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य तोकेको थियो । बैठकले निर्माण गरेका तर पूरा नगरेका र हालसम्म कुनै किस्ता नलिएका भूकम्पपीडितहरूको आवास स्थानीय निकायमार्फत प्राविधिक जाँच र यथासम्भव सम्भव सुधार गराएर उपलब्ध गराउन निर्णय समेत गरेको छ ।

यस्तै बैठकले नेपालको पुनर्निर्माणसम्बन्धी प्रस्तावित अन्तराष्ट्रिय सम्मेलन आगामी मंसिर २१–२३ अर्थात् डिसेम्बर ७–९ मा आयोजना गर्ने निर्णय समेत गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति कहिले कसरी आइलाग्छ भन्ने कुरा थाहा नपाउने भएकोले मानवीय र भौतिक क्षति रोक्ने तयारी मात्र गर्न सकिने बताए । यसका लागि जमिन हावा, पानी, आगोजन्य विपत्तिको सामना गर्न अलग–अलग किसिमले तयारी गरिनुपर्ने उनको भनाइ थियो । विपत्को सामना गर्नका लागि विगत देखिको भूगोल बनावट, विगत र भविष्यका घटनालाई हरेर जोखिम न्यूनीकरणको तयारी गरिनुपर्ने उनले बताए ।

बैठकमा प्राधिकरणको समयावधि पूरा भइसकेपछि विपत् व्यवस्थापनका लागि एउटा स्वायत्त निकाय आवश्यक रहेको र साथै भूकम्पलगायतका प्राकृतिक विपत्का बारेमा अनुसन्धान केन्द्र स्थापना गर्नसमेत प्रस्ताव गरिएको छ । यसका साथै धरहरा क्षेत्रको पहिलेको टक्सार भवनमा भूकम्प संग्रहालय बनाउन समेत प्राधिकरणले प्रस्ताव गरेको छ । बैठकमा दिइएको जानकारीअनुसार निजी घरमा क्षति पुगेका कुल आठ लाख आठ हजार दुई सय ८२ लाभग्राहीमध्ये ९९ दशलमव ३६ प्रतिशतले प्रथम किस्ता लिएका छन् भने दोस्रो किस्ता ८८ दशलमव ६२ प्रतिशतले लिएका छन् ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले प्राधिकरणले पुनर्निर्माणमा प्राप्त अनुभव समेतलाई ध्यानमा राखी ‘राष्ट्रिय भवन संहिता’मा परिमार्जन गरिएको जानकारी दिए । यसैगरी भूकम्प प्रभावित सम्पूर्ण जिल्लाको ‘पहिरो जोखिम नक्शांकन’ कार्य गरी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको पनि उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया