Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभीमदत्तले ल्यायो एक अर्ब ५९ करोडको बजेट

भीमदत्तले ल्यायो एक अर्ब ५९ करोडको बजेट


कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि एक अर्ब ५९ करोड रुपैयाँको बजेट ल्याएको छ । बजेटमा एक अर्ब ११ करोड चालू र ४१ करोड पुँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ । यस्तै वित्तीय व्यवस्थामा एक करोड र अन्यमा पाँच करोड विनियोजन गरिएको छ । नवौँ नगरसभामा उपमेयर सुशिला चन्द सिंहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्दै आगामी आवमा १४ करोड ४३ लाख आन्तरिक स्रोतबाट आम्दानी हुने लक्ष्य लिइएको बताइन् ।

यसैगरी समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपुरक अनुदान, विशेष अनुदान, क्षेत्रीय सहकारी विकास आयोजना, सडक बोर्ड नेपाल र जन सहभागिताबाट आम्दानी हुने अनुमान गरिएको छ । भीमदत्तले चालू आर्थिक वर्षको भन्दा बढीको बजेट ल्याएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा एक अर्ब ३७ करोड बजेट विनियोजन गरिएको थियो । बजेटमा कोेरोना महामारी नियन्त्रण, रोकथाम सहित शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले कोभिड १९ महामारी नियन्त्रण रोकथामसहित स्वास्थ्य, शिक्षा, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको बताए ।

नगरपालिकाले कोरोना महामारीलाई मध्यनजर गरी कोभिड संवेदनशील सेवा प्रवाह गर्ने, मेरो नगर म बनाउँछु भन्ने नारासहित स्वच्छ र हरियाली सहर बनाउने, प्राविधिक शिक्षा विस्तार र भूमिहीन सुकुमबासी समस्या समाधानलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै महिलाहरूका लागि सहेली नारी उत्थान कार्यक्रम, सुरक्षित नारी, समृद्ध नारी, एक वडा एक पर्यटन गन्तव्य, भरोसा कृषि प्रवद्र्धन कार्यक्रम, एक वडा एक उत्पादनलगायतका कार्यक्रम बजेटमा समावेश छन् ।

सहकारी क्षेत्र बलियो बनाउन एक सहकारी एक वस्तु उत्पादनको नीति लिइएको छ भने किसानलाई सिँचाइ सुविधाका लागि सोलार सिँचाइ, थोपा सिँचाइ, लिफ्ट सिँचाइ प्रणाली विस्तार गर्ने योजना ल्याएको छ । नगरपालिकाले आगामी वर्ष सबै वडा कार्यालयका भवन निर्माणकार्य पूरा गर्ने लक्ष्य लिएको छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले नगरको आन्तरिक स्रोत साधनलाई मध्यनजर गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको बताए । ‘स्रोतले भ्याएसम्म नगरको विकास हुने खालको योजना ल्याएका छौँ’ उनले भने ।

कृष्णपुर नगरपालिकाको बजेट ९२ करोड ५६ लाख : यस्तै जिल्लाको कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि करिब साढे ९२ करोडभन्दा बढीको अनुमानित बजेट ल्याएको छ । नगरपालिकाको नवौँ नगरसभामामा उपप्रमुख रमिता राना बडायकले आर्थिक वर्षका लागि ९२ करोड ५६ लाख ४२ हजार रुपैयाँबराबरको वजेट प्रस्तुत गरेकी हुन् ।

नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञसहितको सुविधा सम्पन्न १५/१५ शय्याका दुईवटा नगर अस्पताल निर्माण गरिने उपप्रमुख रानाले बताइन् । यस्तै नगरपालिकाले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिनेलाई विमाको व्यवस्था गर्ने र संक्रमित भए खर्चको व्यवस्थापन समेत गर्ने नीति लिएको छ ।

यस्तै ६० वर्ष उमेर पुगेका एकल पुरुष (विदुर) र ४० वर्षमाथिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नगरपालिकाले निति लिएको छ । साथै कोभिड प्रभावित उद्योगी व्यवसायीहरूलाई व्यवसाय करमा विशेष छुट दिने व्यवस्था गर्ने, भू–उपयोग योजना र बस्ती विकास योजना निर्माण गरी लागू गरिने बजेटमा उल्लेख छ ।

यस्तै शुक्लाफाँटा नगरपालिकाको नवौँ नगरसभाले आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि ७१ करोड ४८ लाखबराबरको बजेट ल्याएको छ । भने दक्षिणी भेगको नगरपालिका पुनर्वास नगरपालिकाले ६९ करोड २९ लाख एक हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको नवौँ नगरसभामा पेस गरिएको बजेटमा नगरपालिकाले स्वास्थ्य, शिक्षा, उत्पादनमूलक उद्योग, कृषि क्षेत्रको विकास, आर्थिक विकासलगायतका योजनालाई प्राथमिकतामा राखेको छ ।

यस्तै दोधारा चाँदनी नगरपालिकाकाले ६२ करोड १५ लाख १३ हजार बजेट ल्याएको छ भने बेदकोट नगरपालिकाले ८३ करोड ९२ लाख ३३ हजार बजेट प्रस्तुत नगरसभामा प्रस्तुत गरेको छ । यता लालझाडी गाउँपालिकाले भने आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित समेत गरेको छ । बिहीबार ९औँ गाउँसभामा उपप्रमुख सत्यादेवी महराले प्रस्तुत गरेको ४७ करोड ५० लाख एक हजार पाँच सय अनुमानित बजेट र गाउँ प्रमुख मदनसेन बडायकले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा योजना पारित भएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया