Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१० महिनामा तीन खर्बको थप धितोपत्र सूचीकृत

१० महिनामा तीन खर्बको थप धितोपत्र सूचीकृत


काठमाडौं ।
चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा तीन खर्ब २७ अर्ब ४० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा दुई खर्ब १९ अर्ब ९५ करोडबराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोडबराबरको साधारण सेयर, ४३ अर्ब २० करोडबराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड बराबरको डिबेन्चर, पाँच अर्ब ५२ करोडबराबरको हकप्रद सेयर र दुई अर्ब ८५ करोडबराबरको म्युचुअल फण्ड गरी कुल तीन खर्ब २७ अर्ब ४० करोडबराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा नेपाल धितोपत्र बोर्डले १७ अर्ब ५४ करोडबराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड बराबरको साधारण सेयर, छ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र तीन अर्ब पाँच करोडबराबरको हकप्रद सेयर गरी कुल ४० अर्ब ४३ करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । राष्ट्र बैंकका अनुसार २०७७ वैशाख मसान्तमा १२ सय एक दशमलव छ अंकमा रहेको नेप्से सूचकांक २०७८ वैशाख मसान्तमा २६ सय ८४ दशमलव एक अंकमा पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३ सय ६२ दशमलव चार अंकमा रहेको थियो । २०७८ वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ अर्ब २४ अर्ब ५५ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । २०७८ वैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय २० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, चार व्यापारिक संस्था, चार लगानी कम्पनी र तीन अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८ दशमलव तीन प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा आठ दशमलव चार प्रतिशत, लगानी कम्पनीको सात दशमलव आठ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा तीन दशमलव नौ प्रतिशत, होटलको हिस्सा एक दशमलव चार प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव छ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा नौ दशमलव छ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ वैशाखसम्ममा सूचीकृत पाँच अर्ब ७० करोड सेयरको चुक्ता मूल्य पाँच खर्ब ६० अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया