Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजिप्रका नवलपरासीद्वारा सात करोड रुपैयाँ राजस्व संकलन

जिप्रका नवलपरासीद्वारा सात करोड रुपैयाँ राजस्व संकलन


बुटवल ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले एक वर्षको अवधिमा सात करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयमा प्रहरी प्रमुखको रूपमा प्रहरी उपरीक्षक अजय केसी हाजिर भएपछिको साढे १३ महिनामा उक्त राजस्व संकलन भएको हो ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार प्रहरीले आफ्नो कार्यक्षेत्रबाट उक्त रुपैयाँबराबरका विभिन्न सरसामानहरू बरामद गरी सम्बन्धित कार्यालयमा बुझाएर राजस्व संकलनमा योगदान दिएको हो । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट यो अवधिमा छ करोड ६९ लाख ५७ हजार पाँच हजार सय ८३ मूल्यबराबरको भन्सार छली गरी अवैधरूपमा ओसारपसार गरिएका मालसामानको बरामद गरी राजस्व संकलन गरेको हो ।

बरामद गरी भन्सार कार्यालय बुझाइएका सामानहरूमध्ये हरियो केराउ, छोडा, मरिच, खाद, हाडवरको सामान, कपडा, मोबाइललगायतका इलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा, बोकाखसी रहेका छन् । साथै जिल्लाका विभिन्न स्थानबाट तीन लाख २३ हजार आठ सय ४० मूल्यबराबरको अवैध काठ बरामद गरी आवश्यक कारबाहीको लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाएको सूचना अधिकारी लामाले जानकारी दिए ।

लामाले १३ महिनाको अवधिमा जिल्लाका नदी तथा खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न एक वटा ट्र्याक्टर, तीनवटा टिप्पर र दुईवटा एक्एक्स्काभेटरसहित एक सय पाँचवटा सवारी साधन पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको जानकारी दिए ।

उक्त सवारी साधनबाट २६ लाख ८१ हजार सात सय १२ रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ । उक्त समय अवधिमा अवैध मालसामान, काठ तथा अवैध नदीजन्य पदार्थ उत्खनन् कारबाहीबाट छ करोड ९९ लाख ६३ हजार एक सय ३५ रुपैयाँ राज्यको राजस्व वृद्धिमा जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापश्चिमको योगदान पुगेको सूचना अधिकारी लामाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया