Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्वबाट मैनालीको बहिर्गमनसँगै नक्कली भ्याटबिल प्रकरण गुमनाम

राजस्वबाट मैनालीको बहिर्गमनसँगै नक्कली भ्याटबिल प्रकरण गुमनाम


विराटनगर ।
२०६७ सालमा उपसचिवमा बढुवा भएदेखि नै नक्कली भ्याटबिल प्रकरणमा अध्ययन गरेका दीर्घराज मैनालीले राजस्व अनुसन्धान विभागको महानिर्देशकसम्मको नियुक्ति पाउँदा समेत नक्कली भ्याटबिल प्रकरण अनुसन्धान नै नगरी भित्रभित्रै गुपचुप राखेको पाइएको छ ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्ति हुँदा केही दिन उनले मूल्य अभिवृद्धि कर(भ्याट)मा हुने छलीका विषयमा अध्ययन गरेको सरोकारवालाहरूले बताएका थिए । त्यतिबेला नै उनले मिसिङ ट्रेडर्स फ्रड र मिसिङ ट्रेडर्स रिफण्ड फ्रडबाट भ्याट छली भइरहेको पत्ता लगाएका थिए । तर उनी यो घट्ना सार्वजनिक हुँदा समेत किन मौन बसे भन्ने विषय अहिले उठ्न थालेको छ ।

नेपालमा भ्याट छली र नक्कली भ्याटबिल प्रकरणको सञ्जाल नै रहेको छ भन्ने कुरा प्रमाणित हुँदा पनि मैनाली कारबाही प्रक्रिया अगाडि बढाउन किन इच्छुक भएनन् भन्ने विषय अहिले आएर उठेको हो । त्यसबेला नै उनले देशका लगभग सबै ठूला उद्योग र व्यापारिक प्रतिष्ठान गरी दुई सय ४२ वटा फर्मबाट नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको फेला पारेका थिए, तर उनले ती फर्मविरुद्ध कुनै पनि कारबाहीको प्रक्रिया अगाडि बढाएनन् ।

हाल दीर्घराज मैनाली राजस्व अनुसन्धान विभागबाट सरुवा भई अर्थ मन्त्रालयमा पुगिसकेका छन् । तर नक्कली भ्याटबिल प्रकरणको छानबिन र कारबाहीको फायल समेत राजस्व अनुसन्धान विभागबाट तत्कालीन महानिर्देशक मैनालीले अन्यत्रै लगेको राजस्वस्रोतले दाबी गरेको छन् ।

राजस्वस्रोतका अनुसार मैनालीले कहीँ गए पनि नक्कली भ्याटबिल प्रकरणको छानबिनलाई भने रोकेका थिएनन् । उनले विराटनगर कर कार्यालयमा पुगेर त्यहाँ सक्कली कम्पनीकै नक्कली बिल समेत फेला पारेको घटना राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा समेत गर्भका साथ बताउने गरेका थिए । उनले त्यसबेलै देशका दुई ठूला उद्योगपतिका दुईवटा कम्पनीबाट एसियन थाइफुड्सले सामान किनेको विवरण देखिएको तर यथार्थमा ती दुई कम्पनीले एसियन थाइफुड्सलाई कुनै पनि सामान आपूर्ति नै नगरेको भन्नेसम्मको तथ्य आफूसँग रहेको बताएका थिए । तर यति धेरै प्रमाण र तथ्य हुँदा पनि उनी नक्कली भ्याटबिल प्रकरण र भ्याट छलीमा राजस्व अनुसन्धानमा मौन बसेपछि विभागका सबै कर्मचारी आश्चार्यमा परेका थिए ।

आफूलाई अब्बल देखाउनका लागि जे पनि गर्नपछि नपर्ने मैनाली राजस्वबाट आन्तरिक राजस्व विभागको महानिर्देशक बन्ने दौडमा रहेका थिए । तर त्यहाँ उनको पहुँचको आधार नै फेला पर्न नसकेपछि उनी अन्तिम समयमा अर्थ मन्त्रालय त्यो पनि एउटा फाटको जिम्मेवारीमा खुम्चिन पुगेका छन् ।

जहाँ कार्यरत रहे पनि सबैतिर आफूलाई अब्बल प्रमाणित गर्नका लागि मैनाली विवादस्पद नै बन्न पुगेका छन् । उनी विराटनगरको आन्तरिक राजस्व कार्यालयमा रहँदा समेत चर्चित सवारी दुर्घटना गराएर ठूलो क्षति व्यहोर्नुपरेको थियो । गाडीमा सवार एक जनाको ज्यान नै गएको थियो भने सोही दुर्घटनाका कारण रातारात विराटनगरबाट सरुवा समेत हुनुपरेको थियो । त्यस बेला मात्रै आन्तरिक राजस्व कार्यालय विराटनगरले उक्त दुर्घट्नाका कारण ठूलै क्षति समेत व्यहोरेको थियो ।

पछिल्लो समय राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा पनि नक्कली भ्याटबिल प्रकरणले पूर्णता पाउने र दोषी कम्पनी कानुनी दायरामा आउने धेरैको अपेक्षा थियो । सुरुका दिनमा मैनालीको सक्रियता पनि निक्कै देखिएको थियो । तर अन्त्यसम्म आउँदा नक्कली भ्याटबिल प्रकरणको फायल नै हराएको रहस्य राजस्वस्रोतले खोलिदिएको छ । के अब राजस्वबाट मैनालीको बहिर्गमनसँगै नक्कली भ्याटबिल प्रकरणले पनि बिट मारेकै हो त भन्ने प्रश्न मात्र जस्ताको तस्तै रहन पुगेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया