Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकेएमसीद्वारा एचआईभी पीडित र अनाथहरुको निःशुल्क उपचार गर्ने घोषणा

केएमसीद्वारा एचआईभी पीडित र अनाथहरुको निःशुल्क उपचार गर्ने घोषणा


काठमाडौं ।
काठमाडौं मेडिकल कलेज (केएमसी) ले एचआईभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्योपचार गर्ने भएको छ । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआईभी पीडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने भएको हो ।

घरेलु महिला हिंसा, यौनहिंसा, मानब बेचबिखन, बालश्रम तथा महिला हकअधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच शुक्रबार निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएपछि दशौँ हजारौँ यौनकर्मी, हजारौँ एचआईभी पीडित तथा अनाथ बालबालिकाहरुको निःशुल्क स्वास्थ्योपचारको बाटो खुलेको हो ।

‘केएमसीले अब माइती नेपालको सिफारिसमा दशौँ हजार यौनकर्मी, हजारौं एचआईभी पीडित तथा सयौं अनाथहरुको निःशुल्क उपचार गर्नेछ ।’ यो सेवा माइती नेपालमा आबद्ध भएका सबै समुदायका लागि उपलब्ध हुने केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भने । सम्झौताअनुसार केएमसीले वार्षिक ५० लाखबराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिनेछ । केएमसीले औषधिबाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्नेछ । सम्झौतापत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइरालाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले महिला हिंसा, यौनहिंसा, मानव बेचबिखन कार्यमा राष्ट्रको लागि योगदान पु-याउँदै आएको माइती नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यो सम्झौताले यौनकर्मी महिलाको स्वास्थ्य सुरक्षा, एचआईभी पीडित र अनाथ बालबालिकाको उपचारमा टेवा पुग्ने विश्वास लिएको बताए । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजमा विभिन्न कारणले हिंसाको शिकार भएका महिला तथा बालबालिकाहरुको उपचार तथा पुनस्र्थापनामा केएमसीले देखाएको तत्परता अनुकरणीय भएको बताइन् ।

राज्यले समेत उपेक्षा गरेको क्षेत्रमा निजी क्षेत्रबाट देखाएको सहकार्यले माइती नेपालको अभियानमा सहयोग पुग्ने विश्वास कोइरालाको छ । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका समाजसेवी डा. शर्माको केएमसीमा प्रवेश गरेसँगै केएमसीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु ल्याएको छ । यसअघि गाउँगाउँमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्न थालेको केएमसीले चाँडै चिकित्सा सेवाका विशिष्ट सेवाहरु समेत सञ्चालनमा ल्याउँदै छ भने नेपालमै पहिलोपटक ‘रोबोटिक सर्जरी’ थाल्ने घोषणा गरिसकेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया