Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयल निगम थानकोट डिपो प्रमुख ठाकुरले अतिरिक्त लाभ लिएको आरोप

आयल निगम थानकोट डिपो प्रमुख ठाकुरले अतिरिक्त लाभ लिएको आरोप


काठमाडौं ।
नेपाल आयल निगम थानकोटका डिपो प्रमुख अभिषेक ठाकुर आर्थिक अनियमिततामा संलग्न रहेको पाइएको छ । ठाकुरले आर्थिक अनियमितता गरेको आरोप डिपोमै कार्यरत कर्मचारीहरुले लगाएका हुन् । कर्मचारी स्रोतका अनुसार अहिलेसम्म निगमको केन्द्रीय कार्यालयमा नबसेका ठाकुर राजनीतिक पहुँचका आधारमा सधैँजसो आकर्षक डिपोहरुमा प्रमुखको रुपमा रहने गरेका छन् । उनले आर्थिक अनियमितता गरेको आरोप पेट्रोलियम पदार्थ कारोबार गर्ने व्यवसायीहरुले पनि लगाएका छन् ।

थानकोट डिपो प्रमुख हुनुअघि नेपाल आयल निगमकै धनगढी, नेपालगञ्ज, सिनामंगललगायतका डिपोहरुमा प्रमुख भएर बसेका ठाकुरले ती डिपोहरुमा निकै आर्थिक अनियमितता गरेको दाबी थानकोट डिपोमा कार्यरत कर्मचारी स्रोत गरेको छ । डिपो प्रमुख ठाकुरको रवैयाका कारण उक्त डिपोमा कार्यरत कुनै पनि कर्मचारीहरुले उनलाई मन पराएका छैनन् ।

‘अर्थ लाभ गर्न निकै माहिर मानिएका ठाकुुरले ट्यांकरको चाबी खोल्दा समेत चालकसँग कमिसन खान्छन्’, कर्मचारी स्रोतले भनेको छ । आफूसँग ठूला नेताको पावर रहेको र आफूलाई कसैले हटाउन र कारबाही गर्न नसक्ने भन्दै डिपो प्रमुख ठाकुरले आफूसँग फरक आस्था राख्ने कर्मचारीहरुलाई धम्क्याउने थर्काउने गरेको दाबी स्रोतले गरेको छ ।

‘केही समयअघि मात्र थानकोट डिपो प्रमुख र मध्यमाञ्चल ढुवानी व्यवसायी महासंघबीच पेट्रोलियम पदार्थ ढुवानीको विषयमा छलफल भएको थियो । महासंघका अध्यक्ष दिपक सिवाकोटीको नेतृत्वमा आएको छलफलमा सिवाकोटीले डिपो प्रमुख ठाकुरलाई व्यवसायीहरुसँग अतिरिक्त रकम लिएको आरोप समेत लगाए’, कर्मचारी स्रोतले भनेको छ, ‘त्यसक्रममा डिपो प्रमुख ठाकुर र सिवाकोटीबीच केही समय विवाद समेत भएको थियो ।’

कर्मचारी स्रोतका अनुसार थानकोट डिपोबाट अहिले काठमाडौं उपत्यकाका र यसका आसपास क्षेत्रका एक सय ७६ वटा पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री हुन्छ । यसरी पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दा डिपो प्रमुख ठाकुरले आफ्नो विशेष च्यानलमार्फत प्रत्येक डिपोसँग प्रतिमहिना १० हजारका दरले रकम बुझ्ने गरेको स्रोत बताउँछ । ‘अहिले तपाईं आफैँ अनुमान लगाउनुहोस् एक सय ७६ वटा पम्पबाट डिपो प्रमुख ठाकुरले प्रत्येक महिना कति रकम उठाउलान् ?’, कर्मचारी स्रोतले भनेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका संस्थाहरुले डिपो प्रमुख ठाकुरको आम्दानीको स्रोत अर्थात् भनौँ सम्पत्ति छानबिन गरेको खण्डमा उनले डिपो प्रमुख भएकै आधारमा आर्जन गरेको अकूत सम्पत्ति पत्ता लाग्ने स्रोतको दाबी छ ।

तर यता डिपो प्रमुख ठाकुरले भने कर्मचारीहरुको भनाइमा कुनै सत्यता नभएको बताएका छन् । ‘कर्मचारीको तलब, भत्ता, सुविधा संस्थाको नियमअनुसार हुुन्छ । मैले कसैको तलब, भत्ता तथा अन्य सुबिधा रोक्ने कुरा आउँदैन, यदि कसैले सस्तो लोकप्रियताको लागि कसैले मेरो बारेमा अनर्गल प्रचार गर्छ भने मेरो भन्नु केही छैन’, डिपो प्रमुख ठाकुरले भने, ‘जहाँसम्म मध्यमाञ्चल ढुवानी व्यवसायीहरुबीचमा विवाद भएको भनेर भनियो, त्यो उहाँहरुबीचको बिवाद थियो, हामीले नै मध्यस्थता गरेर विवाद मिलाएर पठाएका छौँ, यसमा केही समस्या छैन ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया