Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारीबाट ४४ लाख नगद र ९ तोला सुन चोरी गर्ने पक्राउ

सहकारीबाट ४४ लाख नगद र ९ तोला सुन चोरी गर्ने पक्राउ


काठमाडौं ।
काठमाडौँ उपत्यकाका विभिन्न सहकारीबाट करिब ४४ लाख नगद र ९ तोला सुन चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त सिंहदरबारबाट परिचालन भएको विशेष टोलीले शनिबार नुवाकोटको बेल्कोट नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौंको जोरपाटी बस्दै आएका २२ वर्षीय दिपक गजुरेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले ४३ लाख ९७ हजार तीन सय २६ रुपैयाँ नगद, ९ तोला सुन र १÷१ थान मोबाइल र ल्यापटप चोरी गरेका थिए ।

प्रहरीले उनलाई गौशालामा शंकास्पद रूपमा हिँडिरहेको आवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उक्त चोरी प्रकरण खुलेको हो । साथै उनीबाट सहकारी संस्था चोरी गर्नका लागि उनले सिसा काट्ने मेसिन थान एक, मास्टर चाबी थान एक, घटनामा प्रयोग भएका विभिन्न कपडाहरू र विभिन्न बैंकको खातामा नगद जम्मा गरेको रसिदहरू बरामद भएको प्रहरीले जनाएको छ ।

गजुरेलले गत माघ १५ गते बानेश्वरस्थित बेबिलोन उपभोक्ता सहकारी संस्थावाट सात लाख दुई हजार, गत माघ २१ गते शंखमुलस्थित घरसंसार उपभोक्ता सहकारी सस्थाबाट दुई लाख २४ हजार, गत फागुन १३ गते गौशाला मित्रपार्कस्थित पन्च श्री बचत तथा ऋण सहकारी संस्थाबाट १४ लाख ९८ हजार, गत फागुन १४ गते कोटेश्वरस्थित सिमस स्वामी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख रुपैयाँ चोरी गरेका थिए ।

यस्तै गत चैत्र ४ गते बानेश्वरस्थित सन्दुक बचत तथा ऋण सहकारी संस्थाबाट १० लाख १३ हजार, गत जेठ १३ गते मैतिदेवीस्थित जेष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ र एक मोबाइल र एक ल्यापटप चोरी गरेको पाइएको प्रहरीले जनाएको छ । यसैगरी गत जेठ १३ गते नै उनले मैतिदेवीस्थित गैथली बचत तथा ऋण सहकारी संस्थावाट दुई लाख ५८ हजार रुपैयाँ र ९ तोला सुनको गरगहना चोरी गरेको प्रहरीको भनाइ छ । कारबाहीको लागि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया