Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौं प्रवेशमा अझै निषेध

काठमाडौं प्रवेशमा अझै निषेध


काठमाडौं ।
देशको सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौं उपत्यकामा छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबारसम्म आठ हजार तीन सय ९७ जना कोरोनाका सक्रिय संक्रमित छन् । काठमाडौं जिल्लामा मात्रै अझै चार हजार चार सय ५३ जना, भक्तपुरमा एक हजार सात सय ३८ जना र ललितपुरमा दुई हजार दुई सय छ जना कोरोनाका सक्रिय संक्रमित छन् । तर, सरकारले उपत्यकाबाट बाहिर जान दिएर उपत्यकामा प्रवेश गर्न भने रोक लगाइरहेको छ । अझै पनि काठमाडौं उपत्यकामा कहिलेदेखि सार्वजनिक सवारीसाधन प्रवेश गर्न पाउँछन् भन्ने कुनै निश्चित छैन । तर, सोमबारको निर्णयअनुसार अझै असार २१ गते रातिसम्म काठमाडौं उपत्यकामा प्रवेशमा निषेध नै गरिएको छ ।

सोमबार राति १२ बजेपछि एक साताका लागि थप गरिएको निषेधाज्ञामा काठमाडौं उपत्यकाभित्र २५ सिटभन्दा माथिका बस सञ्चालन अनुमति दिएको छ तर सार्वजनिक यातायातलाई काठमाडौं प्रवेशमा अझै रोक लगाइएको छ । पासबाहेकका अन्य सवारी काठमाडौं उपत्यका प्रवेशमा निषेध नै छ । अघिल्लो वर्ष बाहिरी जिल्लामा संक्रमितको संख्या बढी भएको कारण उपत्यकाभित्र सार्वजनिक यातायातका साधन प्रवेश गर्न दिइएको थिएन । तर, यस वर्ष काठमाडौं उपत्यकामा बढी संक्रमित भए पनि उनीहरुलाई बाहिर जान दिएर भित्र प्रवेशमा भने रोक नै लगाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर दुई हजार चार सय ४४ जना संक्रमित थप भएकामा काठमाडौं जिल्लामा मात्रै तीन सय ५५ जना कोरोनाका संक्रमित थप भएका छन् । त्यस्तै, ललितपुरमा एक सय १२ र भक्तपुरमा ४७ जना संक्रमित थप भएका छन् । अरु ७४ जिल्लामा एक हजार नौ सय ३० जना मात्र थप भएका छन् ।

यो तथ्यांकले काठमाडौं उपत्यकामा अझै पनि कोरोना संक्रमितको अवस्था डरलाग्दो नै छ । तर, सरकारले काठमाडौंबाट बाहिर जान दिएर काठमाडौंभित्र भने प्रवेश गर्न रोक लगाएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबारको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय लिएको छ । पसलहरु पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्र भने कुनै पनि नाकाबाट सार्वजनिक र निजी यातायात प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनले सिट क्षमताअनुसार नै यात्रु बोक्न पाउनेछन् । तर, सिट क्षमताभन्दा बढी उभ्याएर यात्रु बोक्न भने पाउनेछैनन् । त्यस्ता सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्नुपर्नेछ । तरकारी, फलफूललगायतका वस्तु बोक्ने गाडीहरु भने बिहान ०९ देखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछैन । अरु समयमा भने सञ्चालन गर्न पाइनेछ । खाद्यान्न पसल भने बिहानदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । डिपार्टमेन्टल स्टोर भने बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सरकारले २५ सिट क्षमताका सवारीसाधनलाई काठमाडौंमा चल्न दिने भने पनि साना यातायात व्यवसायीहरुले भने अर्को सातादेखि आफ्ना सवारीसाधन सञ्चालन गर्ने चेतावनी दिएका छन् । जोरविजोर प्रणालीले यातायातमा यात्रुको चाप बढ्ने आशंका गरिएको छ । काठमाडौं उपत्यकाको प्रशासनले सोमबार रातिदेखि थप गरिएको निषेधाज्ञा असार २१ गते रातिसम्म लागू हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया