Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभिसा प्रणालीमा नयाँ फड्को

भिसा प्रणालीमा नयाँ फड्को


काठमाडौं । अध्यागमन विभागले विदेशी नागरिकलाई जारी गर्ने ४५ वर्षदेखि प्रचलनमा रहेको हस्तलिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणालीमा प्रवेश गरेको छ । अब नेपालको भिसा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विश्वसनीय र भरपर्दो तथा विद्युतीय भिसा लागू गर्न सकिने भएको छ । हाल विभागबाट सुरू भएको यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरि रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने योजना रहेको छ । यो प्रणालीले नेपाली अध्यागमनलाई नयाँ युगमा प्रवेश गराएको बताइएको छ ।

अध्यागमन विभागमा सोमबार आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरेका छन् । पहिलो भिसा पोर्चुगिज नागरिक तेन्जिङ नोर्बु लामालाई प्रदान गरिएको छ । शुभारम्भ कार्यक्रममा मन्त्री पौडेलले सरकारी सेवालाई विद्युतीय माध्यमबाट प्रवाह गरी प्रभावकारिता ल्याउने र सुशासन स्थापना गर्न यसकार्यले टेवा दिने बताए ।

भिसामा गरिएको प्रविधियुक्त सुधारले नेपाली भिसालाई अन्तर्राष्ट्रियस्तरमै विश्वसनीय, सुरक्षित र गुणस्तरीय बनाउन बल पुग्ने र नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमा समेत सकारात्मक योगदान दिने उनको भनाइ थियो । ‘नेपाललाई विदेशीले चिन्ने पहिलो आँखा अध्यागमन, अन्तर्राष्ट्रिय एयरपोर्ट र अध्यागमन प्रशासन भएकोले यसको सुधारले सेवा प्रवाहमा सकारात्मक परिवर्तन आई सेवाग्राहीले सुधारको महसुस गर्नेछन्’, उनले भने, ‘वर्तमान सरकारको डिजिटल नेपाल फ्रेमवर्कबमोजिम नै यो सेवा प्रारम्भ भएको छ ।’ आगामी दिनमा सबै सरकारी सेवा विद्युतीय माध्यमबाट दिने कार्यमा नेपाल सरकारले तीव्ररूपमा काम गरिरहेको उनले बताए ।

क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न (जेनेरेट) गरी भिसा स्टिकर छपाई गर्ने हुँदा साबिकमा जस्तो हातले लेख्दा हुने त्रुटि तथा केरमेट नहुने र सिस्टमबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने हुँदा सेवा प्रवाह छिटो छरितो हुनेछ । कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोडमा भएको विवरणका आधारमा पत्ता लगाउन सकिने हुन्छ । विदेशी मुलुकका अध्यागमन बिन्दुहरूमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरूसँग मिल्दोजुल्दो हुनेभएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया