Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेयर विष्टको विकास रणनीति सहकार्यमा सक्रियता, अवरोधलाई बेवास्ता

मेयर विष्टको विकास रणनीति सहकार्यमा सक्रियता, अवरोधलाई बेवास्ता


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट भन्ने गर्छन्, ‘राजनीति विकासका लागि हुनुपर्छ, विकासमा राजनीति हुनुहुँदैन ।’ मेयर विष्टको यो भनाइका पछाडि दुई कुरा स्पष्ट छन् । पहिलो, उनलाई नगरको विकासमा अवरोध गर्न खोजिएको छ । दोस्रो उनी सहकार्य र समन्वय गरी नगर विकास गर्न चाहन्छन् ।

स्थानीय तह निर्वाचनबाट भीमदत्तको बागडोर सम्हालेका उनी अवरोध र सहकार्य दुवै अनुभवका आधारमा अघि बढेका छन् । स्थानीय तह निर्वाचनपछिका चार वर्षमा भीमदत्त नगरपालिकाले अनपेक्षित उपलब्धि हात पारेको छ । उनका अनुसार पूर्वाधार निर्माणका क्षेत्रमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरिएको छ । घाँडीघाँच क्षेत्रको जैविक धार्मिक पर्यटन मार्ग, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारको शुक्लाफाँटा पर्यटन मार्ग र ती दुवैलाई जोड्ने बाह्य र भित्री चक्रपथ निर्माणकांंर्य अघि बढेको छ । जैविक मार्ग र पर्यटन मार्ग दुवैलाई कालोपत्रे गर्न थालिएको उनले बताए । ८२ किलोमिटरको बाह्य चक्रपथको ट्र्याक खोलेर जैविक र पर्यटन मार्ग खण्डमा कालोपत्रे थालिएको छ । ती दुवै मार्ग संघीय सरकारको प्राथमिकतामा परेको उनको भनाइ छ ।

भीमदत्तका सबै वडामा स्वास्थ्यका संरचना पुगेका छन् । केहीमा प्रसूति सेवासहितका स्वास्थ्य भवन बनाइएका छन् । मेयर विष्टले खल्ला मुसेट्टीमा पहिलो पटक विशेषज्ञ डाक्टर पुगेको बताए । उनका अनुसार मेयर गाउँघर विशेषज्ञ स्वास्थय शिविर, वडा स्वास्थ्य चौकी स्थापना, सीमा नाकामा हेल्थ डेस्क सञ्चालन, महाकाली अस्पताल व्यवस्थापनलाई प्राथमिकता दिएर नगरपालिका अघि बढेको छ । ब्रह्मदेबदेखि मुसेट्टी हुँदै साइलेन्ट लिभरसम्मको बाटो निर्माण भएपछि तीन बस्तीका बासिन्दाले गाडी सुविधा पाएका छन् । तीन बस्तीको वर्षाँैदेखिको अँध्यारो हटेको छ ।

गतवर्ष मात्रै बस्तीमा विद्युत् लाइन विस्तार गरिएको थियो । मझगाउँस्थित मझगाउँ विमानस्थल सञ्चालनका लागि साझेदारी गरिएको उनले जानकारी दिए । आगामी वर्षका लागि दुई करोड ५० लागि बजेट विमानस्थल सञ्चालनका लागि दिने निर्णय समेत गरिएको छ । उनका अनुसार चालू आर्थिक वर्षमा एक करोड बजेट दिइएको छ ।

यूएनडीपीको साझेदारी सञ्चालन गरिएको आर्थिक पुनर्लाभ कार्यक्रममा दुई सय ५० जनालाई कृषि व्यवसायसित जोडिएको उनले बताए । गरिबी निवारण कार्यक्रमबाट ८० जना उद्यमी तयार गरिएका छन् । दुई सय ६३ घर परिवारका फुस र खरका छाना हटाइएका छन् । नागरिक आवास कार्यक्रमअन्तर्गत उनीहरूलाई सहयोग गरिएको छ ।

यसैगरी महाकाली प्रादेशिक अस्पताललाई पीसीआर मेसिन खरिद गरी सहयोग गरिएको उनले बताए । यस्तै उनले शुक्लाफाँटा पर्यटन महोत्सव, भीमदत्तको २५ वर्षे गुरु योजना निर्माण, स्थापना दिवस, विद्युतीय नगर प्रोफाइल निर्माणलगायतका कार्य गरिएको जानकारी दिए ।

उज्यालो भीमदत्त कार्यक्रमलाई प्राथमिकता दिएर महेन्द्रनगर बजार क्षेत्रमा स्मार्ट लाइट जडान कार्यका लागि नेपाल विद्युत् प्राधिकरणसित सम्झौता समेत गरिएको उनको भनाइ छ । उनका अनुसार चार वर्षमा आन्तरिक आम्दानीमा फड्को मारी तेब्बर बढी पुगाइएको छ । स्थानीय तह निर्वाचनपछि पाँच करोड हाराहारीको राजस्व अहिले १५ करोड पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया