Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गरिने

‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गरिने


काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रस्टले बीपी कोइराला अध्ययन तथा अनुसन्धान केन्द्र भवन निर्माण गर्नेभएको छ । उक्त भवनको काठमाडौँमा बुधबार एक समारोहका बीच शिलान्यास गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले उक्त भवनको शिलान्यास गर्दै राष्ट्रवादी नेता बीपी कोइरालाको राजनीति तथा साहित्यबारे अनुसन्धान तथा अध्ययन गर्ने चाहने जोकोहीलाई पनि केन्द्र महत्वपूर्ण हुने बताए । कांग्रेसका पूर्वप्रधानमन्त्रीहरू समेतले चाहँदाचाहँदै गर्ननसकेको काम आज सुरु हुँदा आफू अन्यन्तै खुसी भएको उनले बताए ।

यसैगरी नेपाली कांग्रेसका महामन्त्री, बीपी ट्रस्टका सदस्य एवं बीपीपुत्र शशांक कोइरालाले बीपी कोइरालाबारे अध्ययन अनुसन्धान गर्न चाहने नेपालीलाई मात्र नभई विदेशी अनुसन्धान तथा शोधकर्तासमेतलाई यो भवन उपयोगी बन्ने बताए । साथै उनले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रूपमा लिएको बताए । ‘काठमाडौँ महानगरपालिकाका मेयरज्यूलाई धन्यवाद,’ कोइरालाले भने, ‘उहाँले बजेट दिनुभयो । त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका छौँ । भवन त संरचना मात्रै हो । त्यहाँ आत्मा हुनुपर्छ । आत्माले नै प्रोत्साहन गर्ने हो । आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला ।’

जननायक बीपी कोइराला स्मृति ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले अध्ययन तथा अनुसन्धान केन्द्रबाट बीपी कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जिज्ञासु देश/विदेशका सबैले चाहेजति सूचना तथा जानकारी पाउने बताए । उनले यो भवन बनाउन सघाउने सबै संस्थालाई धन्यवाद समेत दिए ।

यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘बीपी कोइरालाजस्तो आदर्शवान् नेताबारे सुनेको, जानेको थिएँ तर आज आफूले नै ‘बीपी भवन’ निर्माणमा सहयोग गर्ने अवसर पाउँदा अति खुसी लागेको छ ।’ उनले उक्त भवनलाई आगामी बजेटमार्फत समेत सहयोग गर्ने बताए ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, वाग्मती प्रदेश तथा काठमाडौं महानगरपालिकाको सहयोगमा करिब नौ करोडको बजेटमा अति सुविधासम्पन्न अध्ययन केन्द्र निर्माण हुनेछ । भवन लगभग १८ महिनादेखि दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले मात्रै दुई करोड आर्थिक सहयोग गरेको छ ।

भवन निर्माणका लागि वाग्मती प्रदेश सरकारले ५० लाख र ट्रस्ट आफैँको एक करोड लगानी रहनेछ । थप रकम दाताबाट जुटाउने ट्रस्टले जानकारी दिएको छ । भवन निर्माणको मात्रै लागत करिब चार करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा–५ को हाँडीगाउँमा निर्माण हुने सो भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकासँगै प्रदेश सरकारलगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव पोख्रेलले जानकारी दिए । यस भवनको बीपी ट्रस्टको तर्फबाट सुपरिवेक्षण तथा अनुगमन प्राडा ई. हरिदर्शन श्रेष्ठले गनेछन् भने नगरपालिकाको तर्फबाट सहरी विकास आयोजना प्रमुख ई. राम थापाले गर्ने बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया