Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–भारत रेलवे सम्झौता संशोधन : नेपाली व्यापारीको इमानदारिताको परीक्षण सुरु

नेपाल–भारत रेलवे सम्झौता संशोधन : नेपाली व्यापारीको इमानदारिताको परीक्षण सुरु

नेपालीले विदेशी सामान सस्तोमा कसरी पाउँछन् ? नेपाली उत्पादन विश्व बजारमा प्रतिस्पर्धी हुन्छ ?


काठमाडौं । एक दशकभन्दा लामो प्रयासपछि नेपाल र भारतबीचको रेलवे सम्झौता नेपालीको मागअनुसार संशोधन भएको छ । यो सम्झौताले नेपाली व्यापारीलाई प्रत्यक्ष फाइदा मिलेको छ । उनीहरूले विदेशबाट सामान आयात गर्दा ढुवानी खर्च घट्ने भएको छ ।

नेपाली व्यापारी इमानदार भएमा व्यापारीले मात्र होइन नेपाली उपभोक्ता लाभान्वित हुनेछन् भने नेपाली उत्पादन पनि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुनेछ । तर, त्यसका लागि व्यापारीको इमानदारिता र सरकारको निगरानी उच्च हुनुपर्नेछ । यदि सरकारले निगरानी नबढाउने र व्यापारीहरूले इमानदारिता नदेखाउने हो भने त्यसको लाभ व्यापारीहरूले मात्र लिने देखिन्छ ।

सम्झौता संशोधनअघि नेपालले भारतको एउटा मात्रै रेलबाट सेवा लिइरहेको थियो । संशोधनपछि भने नेपालले जुनसुकै कार्गोरेलबाट सामान आयात गर्न पाउनेछ भने नेपालको रेल पनि कोलकाता हल्दियासम्म पुगेर सामान बोकेर आउन पाउनेछ । यो व्यवस्थाले नेपालले आयात र निर्यात गर्ने सामान बोक्नको लागि रेलबीच प्रतिस्पर्धा चल्नेछ । त्यसरी प्रतिस्पर्धा चल्दा जुनमा सस्तो हुन्छ त्यसैमा नेपाली व्यापारीले सामान ल्याउन/लैजान सक्नेछन् ।

नेपाली व्यापारीले सामान ल्याउँदा बीचबीचमा खोलेर चेकजाँच गर्नुपर्ने व्यवस्था पनि हटेको छ । यसले व्यापारीलाई अर्को पनि फाइदा गराइदिएको छ । अर्थात् सामान चेकजाँचको नाममा कयौं दिनसम्म बाटोमा अलपत्र पार्नुपर्ने अवस्था अब हुनेछैन । सामान बन्दरगाहबाट लोड गरेपछि चाँडै नै नेपाल भित्रिनेछ । यसले गर्दा व्यापारीले आफूलाई जुन सामान जुन बेलाको लागि चाहिने हो तत्कालै ल्याउन पाउनेछन् ।

सम्झौताले व्यापारीलाई धेरै लाभ दिए पनि नेपाली उपभोक्ताले लाभ पाउने नपाउने विषयमा भने नेपाली व्यापारीको मुख्य हात रहेको छ । ढुवानी लागत र ढुवानीको समयमा कटौती भएपछि त्यसको लाभ उपभोक्ताले पाउनको लागि उनीहरूले त्यहीअनुसार सामान सस्तोमा बिक्री गर्नुपर्नेछ । व्यापारीले वस्तु बिक्री गर्दा खरिद, ढुवानी, लगानीको ब्याज तथा नाफा राखेर मूल्य तोक्ने गरेका छन् । रेलवे सम्झौता संशोधन हुँदा ढुवानी र समय बचत भएपछि त्यसलाई कटाएर मूल्य निर्धारण गर्ने हो भने नेपाली उपभोक्ताले सस्तोमा गुणस्तरीय सामान पाउनेछन् । तर, व्यापारीहरूले बदमासी गरे भने पहिलाको जस्तै सामान महंगोमा बिक्री गर्नेछन् ।

यस्तै, सामान ल्याउने -याक नपाउँदा नेपाली व्यापारीहरूको सामान महिनौंसम्म कोलकातामा होल्ड हुने गरेको थियो । अब सिधै रेल पाउने भएको कारण कोलकातामा सामान होल्डबापतको भाडा पनि नेपाली व्यापारीले तिर्नुपर्नेछैन । त्यसको लागत पनि घट्दा व्यापारीलाई फाइदा हुन्छ भने उपभोक्तालाई फाइदा दिलाउन यहाँ पनि व्यापारीको इमानदारिताको आवश्यकता पर्छ ।

तसर्थ उक्त रेलवे सम्झौताको संशोधनलाई उपभोक्तासम्म लाभ लिने बनाउन सरकारले पनि व्यापारीलाई सचेत गराउनुपर्नेछ । नेपालको रेल कोलकाता बन्दरगाहसम्म जानका लागि भने भारत सरकारले जारी गरेको रेलसेवाको मापदण्ड पालना गर्नुपर्नेछ । भारत सरकारले जारी गरेको रेलसेवाको मापदण्ड पालना गर्दा पनि नेपालको रेल गएर सामान ल्याउँदा भारतीय अन्य कम्पनीको रेलमा सामान ल्याएको जस्तै पर्ने वाणिज्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

पुरानो रेलवे सम्झौताअनुसार नेपाली व्यापारीहरूले भारतको सरकारी कम्पनी कन्टेनर कर्पोरेसन इन्डिया लिमिटेडबाट मात्र सामान ल्याउन पाएका छन् । उक्त कम्पनीले -याक उपलब्ध गराएपछि मात्र नेपालले सामान ल्याउन पाउने थियो । -याक पाउनु नै नेपाली व्यापारीले युद्ध जितेको जस्तै गर्नुपर्ने अवस्था थियो । खासगरी चाडबाडको बेलामा आउने सामानको -याक पाउन नेपाली व्यापारीलाई सकस नै थियो । अब भने जुनसुकै रेलबाट पनि सामान ल्याउन पाउने भएपछि दशैंका लागि भनेर खरिद गरेको सामान माक्रेसंक्रातिमा मात्र आइपुग्ने समस्याको अन्त्य हुने भएको छ ।

नेपाल र भारत पक्ष सहमत भएको कारण रेलवे सम्झौता संशोधन हुने भएको हो । नेपालका वाणिज्य सचिवले दिनेश भट्टराईले संशोधनमा हस्ताक्षर गरेर सोमबार भारत पठाएका छन् । भारतले संशोधन गर्ने सहमति जनाएपछि नेपालले हस्ताक्षर गरेर सम्झौताको प्रति पठाएको हो । उक्त सम्झौतापत्र भारतको रेल मन्त्रालय पुगेको छ । भारतको रेलवे मन्त्रालयको बोर्ड सदस्यले उक्त प्रस्तावलाई हस्ताक्षरसहित नेपाल फिर्ता पठाएपछि कार्यान्वनमा आउने व्यवस्था छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया