Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राकृतिक विपत्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन

प्राकृतिक विपत्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपत्बाट हुनसक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार बसेको  विपत् सम्बन्धी बैठकमा पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् । साथै उद्धार, राहत र पुनस्र्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि उनले निर्देशन दिए ।

विपत्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै उनले प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरूलाई आग्रह गरे । राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै उनले विपत्का  घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गरे ।

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा पनि उनले जोड दिए । राहत वितरणमा कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण सिर्जना गर्न ध्यान दिनुपर्ने उनको भनाइ थियो । पौडेलले क्षति न्यूनीकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनर्स्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न निर्देशन दिए । साथै उनले तत्काल गर्नुपर्ने तयारीका साथसाथै विपत्बाट जोगिन दीर्घकालीन रूपमा गर्नुपर्ने कामलाई अघि बढाउन आग्रह गरे ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानले कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताए । उनले क्षति, उद्धार र राहतमा भएका कार्यहरू, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नुपर्ने कार्यहरूलगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताए । बैठकमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरोलगायतले पु-याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरू अघि बढाउने तयारी भएको बताए । बैठकमा मनसुनजन्य विपत् बाट हालै भएको क्षतिको विस्तृतरूपमा समीक्षा गरिएको थियो ।

गृह मन्त्रालयका तर्फबाट मनसुनजन्य विपत्बाट हालसम्म भएका मानवीय तथा भौतिक क्षतिको विवरण, खोज, उद्धार तथा राहतका लागि भएका प्रयासहरूको बारेमा समेत बैठकमा जानकारी गराइएको थियो । साथै विभिन्न विषयगत मन्त्रालय तथा निकायहरूबाट आ–आफ्नो क्षेत्रमा भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गरी विपत् प्रतिकार्यका प्रयास र पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्ययोजनाका सम्बन्धमा समेत विस्तृत छलफल भएको गृहमन्त्रालयले जनाएको छ । बैठकमा तत्काल राष्ट्रिय राजमार्ग, विद्युत्, सञ्चारलगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारू गर्न भएगरेका प्रयासहरूको समेत समिक्षा गरिएको थियो ।

सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र र मनाङमा अवरूद्ध भएको टेलिफोन सेवा तत्काल भिस्याट प्रविधिमार्फत सुचारू गर्न उपकरणहरू पठाउने, मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म जाने पहुँच मार्ग र पुलहरूको क्षति भएकोले सो को तत्काल पुनर्निर्माण गर्नका लागि २ वटा बेलीब्रिज निर्माण गरी पहँच मार्ग पुनर्निर्माण गर्ने, हेडवर्कसमा भएको क्षतिको मर्मत सम्भार गर्नेजस्ता महत्वपूर्ण कार्यहरू सम्बन्धित निकायले प्रारम्भ गरिसकेको समेत जानकारी गराइएको थियो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिचाइँ, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा निकायका प्रमुखहरूलगायत सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया