Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवीर अस्पतालमा भ्रष्टाचार : डा. गौतमद्वारा आफ्नै पार्टनरलाई १२ करोडको ठेक्का प्रदान

वीर अस्पतालमा भ्रष्टाचार : डा. गौतमद्वारा आफ्नै पार्टनरलाई १२ करोडको ठेक्का प्रदान


काठमाडौं । कोभिड–१९ केन्द्रीय अस्पताल वीर अस्पतालको भेन्टिलेटर खरिदको ठेक्का सेटिङमा प्रदान गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले आफ्नै व्यापारिक साझेदारलाई १२ करोड ४३ लाख रुपैयाँको ठेक्का दिएका छन् । बाहिर देखिँदा सुन्दर भुसाल भए पनि अदृश्य रुपमा डा. गौतमकै लगानी रहेको म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिलाई करोडौँको ठेक्का दिइएको हो ।

डा. गौतमले मापदण्ड समेत नपुगेको म्याक्सिमलाई एकै दिन १२ करोड ४३ लाख रुपैयाँको भेन्टिलेटर खरिदको ठेक्का दिएका छन् । ठेक्काको सूचनामा तीन वर्ष अनुभव भएको कम्पनीलाई भेन्टिलेटर खरिदको ठेक्का दिने भनिएको छ । तर, दुई वर्ष पनि अनुभव नभएको म्याक्सिमलाई वीर अस्पतालको यति ठूलो रकमको ठेक्का दिइएको छ ।

ठेक्का स्वीकृतिको सूचनामा पनि उनले ‘प्रमुख कार्यकारीस्तरीय’ निर्णय भन्दै म्याक्सिमलाई दिएको उल्लेख छ । गत असार ११ गते वीर अस्पतालले १५ करोडबराबरको ठेक्का आह्वान गरेको थियो । भेन्टिलेटर, एक्स–रे मेसिन, यूएसजी मेसिनलगायतको सामग्री खरिदको ठेक्का प्रकाशन गरेको थियो ।

वीर अस्पतालको मोनिटर खरिदमा यसअघि नै विवादमा मुछिएको म्याक्सिममा उपप्रधनमन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको अदृश्य लगानी रहेको स्रोत बताउँछ । यो कम्पनीका देखिने मालिक सुन्दर भुसालसँग वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमको विभिन्न अन्य कम्पनीमा साझेदारी छ । आफ्नै साझेदारलाई गौतमले ठेक्का दिएबापत चरम भ्रष्टाचार गरेको स्रोतको दाबी छ ।

यसअघि वीर अस्पतालले म्याक्सिमलाई सेटिङमा ठेक्का दिनलागेको भन्दै विभिन्न सञ्चारमाध्यमले खबर छापेका थिए । त्यसपछि वीर अस्पतालको तत्कालीन प्रशासनले ठेक्का नै रद्द गरेको थियो । तर, कोभिड १९ नियन्त्रणसम्बन्धी सरकारले अध्यादेश जारी गरेरै डा. गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको थियो । उनको नियुक्तिसँगै पाँँच अर्बबराबरको ठेक्का हत्याउन आफ्नै कम्पनी संलग्न गराउने खेल सुरु भएको थियो ।

डा. गौतमले म्याक्सिमलाई ठेक्का दिलाउन म्याक्सिममै कार्यरत बायो मेडिकल इन्जिनियर भावना बराललाई वीर अस्पतालमा नियुक्ति दिएर खेल सुरु गरेका थिए । भावनाले म्याक्सिमलाई नै ठेक्का दिने गरी स्पेसिफिकेसन गरेको स्रोतको दाबी छ ।

डा. गौतमले खरिद इकाइ प्रमुख भगवती थपलिया र श्याम विकलगायतलाई हातमा लिएर खरिद ठेक्का आफ्नो मान्छेलाई दिलाएको स्रोतले बताएको छ । स्रोतका अनुसार बोलपत्रमा तीन वर्षको अनुभव माग गरिएको छ । तर, म्याक्सिम दुई वर्षको मात्रै अनुभवी छ । कम्पनी रजिष्ट्रारको कार्यालयको रेकर्डअनुसार २०७६ असारमा म्याक्सिम नामक कम्पनी दर्ता भएको देखिन्छ ।

डा. गौतमले चितवन मेडिकल कलेजको अध्यक्षको किर्ते हस्ताक्षर गरेर करोडौं सम्पत्ति हत्याएका थिए । सोही अभियोगमा उनलाई अदालतले समेत दोषी ठहर गरेको थियो । उनलाई स्वास्थ्य मन्त्रालयले दुई तह घटुवा गरेर कारबाही समेत गरेको थियो ।

तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका अध्यक्ष ईश्वर पोखरेलको योजनामा वीर अस्पतालमा नियुक्त भएर आएका गौतमले वीर अस्पतालको पाँच अर्बको ठेक्का सेटिङमै हत्याउन सुरु गरेका छन् । यसैको पहिलो कडी भेन्टिलेटर खरिद प्रकरण हो ।

No description available.

डा. गौतमको सीएमसी १७६४२८ कित्ता, मौलाकालिका अस्पतालमा २३४०० कित्ता, अमेजन इन्भेष्टमेन्टमा ८५००० कित्ता, ग्यालेक्सीमा इन्भेष्टमेन्टमा ९९००० कित्ता, क्यानभास एजुकेसन फाउण्डेसनमा ३०००० कित्ता र नारायणी अक्सिजनमा १२०००० कित्ता सेयर रहेको पुष्टि भएको छ ।

डा. गौतमले नियुक्त गरेका बायोमेडिकल इन्जिनियर भावना बराल शिक्षण अस्पतालमा विवादास्पद गतिविधि गरेपछि निकालिएकी पात्र हुन् । बराललाई स्वास्थ्य सचिवकै सिफारिसमा नियुक्ति दिएर ठेक्का सेटिङमा प्रयोग गरिएको हो । यद्यपि बरालसँग डा. गौतमको पनि नजिकको सम्बन्ध रहेको वीर खरिद एकाइकै एक कर्मचारी बताउँछन् ।

बरालमाथि कार्यालय समयमै म्याक्सिमको अफिस बालुवाटारमा बसेर वीर अस्पताल खरिद प्रमुख थपलियासँग मिलेर डा. गौतम र स्वास्थ्य सचिवको सेटिङ भएको कम्पनीलाई टेण्डर हुने गरी स्पेक बनाउने गरेको आरोप छ । वीरका कर्मचारीहरुले म्याक्सिममा डा. गौतमको आफ्नै लगानी रहेको बताए । तर, प्रमाणमा भने म्याक्सिममा व्यापारिक पार्टनर उनकै जिल्लाबासी सुन्दर भुसालको नाममा दर्ता छ । भुसाल र गौतमबीच विभिन्न अन्य कम्पनीमा साझेदार छन् ।

म्याक्सिमका मालिक सुन्दर भुसाल अध्यक्ष रहेको क्यानभास कलेजमा डा. गौतमको तीन हजार थान सेयर रहेको देखिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको रेकर्ड अनुसार गौतमले २०७७ फागुन १५ गते सुन्दर भुसालबाट तीन हजार कित्ता सेयर खरिद गरेको देखिन्छ ।

त्यस्तै ग्यालेक्सी इन्भेष्टमेन्ट कम्पनीमा गौतम र भुसाल साझेदार छन् । उक्त कम्पनीमा भुसालको ८४ हजार थान सेयर देखिन्छ भने गौतमको ९९ हजार थान अर्थात् ३३ प्रतिशत सेयर देखिएको छ । यो कम्पनीमा आफूलाई मिडियाको मालिक हुँ भन्ने लक्ष्मीप्रसाद पौडेलको पनि ८४ हजार थान सेयर रहेको रेकर्डमा देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया