Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरका व्यवसायीद्वारा बिलबीजकविना नै खरिदबिक्री

विराटनगरका व्यवसायीद्वारा बिलबीजकविना नै खरिदबिक्री


विराटनगर ।
प्रदेश १ को राजधानी विराटनगर बजारका खाद्य बिक्रेताहरुले भारतबाट तस्करी गरी ल्याइएका खाद्यवस्तु बिक्री गरिरहेका छन् । सीमावर्ती बजार जोगवनीदेखि अवैध रुपमा भन्सार छली गरेर ल्याएको खाद्यवस्तुहरू विराटनगरका खुद्रा पसलहरूबाट बिक्रीवितरण गर्ने गरेको रहस्य हालै भएको बजार अनुगमनको क्रममा फेला परेको हो ।

गत चैतदेखि भारत र नेपालको सीमानाका कोभिड–१९ नियन्त्रणका लागि सिल गरिएको छ । तर व्यवसायी र तस्करीमा संलग्न व्यक्ति, प्रहरीसमेतको मिलेमतोमा अहिले पनि खुलेआम रुपमा तस्करी सञ्चालन भएको यसले देखाउँछ । केही दिनअगाडि उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गरेको बजार अनुगमनको क्रममा विराटनगरका खुद्रा पसलका व्यापारीहरूले क्यारिङ्गमार्फत भन्सार छली गरेर ल्याएको खाद्यवस्तुहरू खरिद गरेर बिक्री गर्ने गरेको फेला परेको हो । अनुगमनका क्रममा तस्करहरूले ल्याएको खाद्यवस्तुको बिलबीजक व्यवसायीले देखाउन सकेनन् । सो क्रममा विराटनगरका तीन खुद्रा व्यवसायीलाई अनुगमन टोलीले कारबाहीसमेत गरेको छ ।

कारबाहीमा पर्नेहरूमा विराटनगर–९ बी प्लटभित्र रहेको मोनिका पूजा एवं किराना पसल, गणेश किराना भण्डार र ओमशान्ति किराना पसल रहेका छन् । उनीहरूले पसलमा रहेको खाद्यवस्तुको बिलबीजक देखाउन नसकेपछि कारबाही गरिएको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । व्यवसायीहरुबाट अनधिकृत रुपमा अपाङ्ग भएका व्यक्तिहरु प्रयोग गरी भारतीय बजारदेखि अवैध रुपमा ल्याइएका खाद्यवस्तु बिक्रीवितरणले पछिल्लो समय तीव्रता पाउनथालेको उजुरीका आधारमा बजार अनुगमन गरिएको थियो । त्यसपछि बजार अनुगमन गरिएको हो ।

कारबाहीमा परेका पसलहरूलाई वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाहीको दायरामा ल्याएको निमित्त कार्यालय प्रमुख पोखरेलले बताए । वाणिज्य कार्यालयले मोनिका पूजा एवम् किराना पसललाई २० हजार रुपैयाँ, गणेश किराना भण्डार र ओमशान्ति किराना पसललाई प्रतिपसल १०/१० हजार रुपैयाँ जरिवाना गराइएको छ । खुद्रा पसलहरूमा भारतीय बजार जोगबनीदेखि तस्करी भएर ल्याएको चिनी, दाल, बिस्कुट, पापडलगायतका खाद्यवस्तु आउने गरेको अनुगमनमा खुलेको छ । स्थानीय व्यापारीहरूले भारतीय बजार जोगवनीमा गएर खाद्यवस्तु खरिद गर्ने र उनीहरूले खरिद गरेको खाद्यवस्तु क्यारिङ गर्नेलाई सामान पसलसम्म ल्याउने जिम्मा दिने गरेका छन् ।

व्यापारीले पसलसम्म खाद्यवस्तु ल्याउनेलाई निश्चित रकम दिने सहमति भारतीय व्यवसायीले नै मिलाउने गरेका छन् । सहमतिअनुसार क्यारिङ गर्नेले पनि भरिया प्रयोग गरेर गन्तव्यसम्म ल्याउने गर्दछन् । यसरी क्यारिङमार्फत भारतदेखि खाद्यवस्तुको तस्करी गरि बिक्रीवितरण सबैभन्दा बढी विराटनगरको पुरानो गुद्री र नयाँ गुद्रीका होलसेल र खुद्रा पसलका व्यापारीहरूले गर्ने गरेका छन् । दैनिक यहाँका पसलहरूमा तस्करीको लाखौं मूल्यबराबरको खाद्यवस्तु क्यारिङ गर्नेले लिएर आउने गरेका छन् । क्यारिङ गर्नेलाई व्यापारीले प्रतिगोटाका हिसाबले तस्करलाई रकम भुक्तानी दिने गरेका छन् । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मोरङ, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया