Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघद्वारा शोकसभा आयोजना

महासंघद्वारा शोकसभा आयोजना


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा महासंघका पूर्वउपाध्यक्ष हेम बहादुर प्रधानको निधनप्रति दुःख व्यक्त गर्न भर्चुअल माध्यमबाट शुक्रबार शोकसभा सम्पन्न गरेको छ । महासंघका पूर्वउपाध्यक्ष प्रधानको असार १३ गते आइतबार निधन भएको थियो । उनको निधनबाट महासंघ परिवारसहित सिंगो निजी क्षेत्र स्तब्ध भएको महासंघले जनाएको छ ।

प्रधान तत्कालीन गण्डकी अञ्चलको प्रतिनिधित्व गरी २०४१ सालमा महासंघमा प्रवेश गरेका थिए । २०४१/०४४ को कार्यकालमा उनी कार्यकारिणी समितिको सदस्य र २०४४–४७ कार्यकालमा महासंघको उपाध्यक्ष भए । उनी २०२५/०२६ सालदेखि नै महासंघका हरेक क्रियाकलापमा सहभागी हुँदै आएका थिए । महासंघमा विभिन्न पदमा रही सिंगो निजी क्षेत्र र मुलुकभित्र उद्योग व्यवसाय र अर्थतन्त्रको विकासमा पूर्वउपाध्यक्ष प्रधानले उल्लेख्य योगदान पु-याउनुभएको महासंघले जनाएको छ ।

प्रधान पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र पोखराका अग्रणी उद्यमी समेत थिए । मुलुकभित्रका उद्योग व्यवसाय बलियो बनाएर मात्र आर्थिक उदारीकरणमा जानुपर्ने विषयमा तत्कालीन अवस्थामा बलियो धारणा बनाएका पूर्वउपाध्यक्ष प्रधान सरकारको अदूरदर्शी नीतिले गर्दा सधैँ आयातित सामानले देशको अर्थतन्त्र कमजोर बन्दै गएको र निर्यातभन्दा आयात बढी हुँदै जाँदा व्यापारघाटा दिनदिनै बढ्दै गएको र देश कमजोर बन्दै गएको बताउँथे ।

देशको अर्थतन्त्र बलियो हुन आयात प्रतिस्थापन हुने निर्यातमूलक उद्योगहरूको स्थापना हुनुपर्ने कुरामा बलियो मान्यता राख्ने र चेम्बर अभियानमा समेत क्रियाशील पूर्वउपाध्यक्ष प्रधानले आफ्नो कार्यकालमा निर्वाह गरेको भूमिकालाई समग्र निजी क्षेत्रले निरन्तर स्मरण गरिरहने महासंघले जनाएको छ ।

स्वर्गीय प्रधानका एक छोरा, पाँच छोरीहरू छन् । शोकसभामा महासंघका पूर्वमहासचिव जगदीश प्रसाद अग्रवाल, महासंघका पूर्वअध्यक्ष पद्म ज्योति, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, स्वर्गीय प्रधानका छोरा रविन्द्र प्रधान, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठसहित सचिवालयका उच्च अधिकृतहरूको उपस्थिति थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया