Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका भुजेल र जबरा पक्राउ

बैंकिङ कसुर मुद्दाका भुजेल र जबरा पक्राउ


काठमाडौं । 
केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू शक्ति भुजेल र शिशिर शमशेर जबरालाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार फरक, फरक मिति र फरक–फरक स्थानमा ती दुई व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।

सोमध्ये भुजेललाई रोशन कार्कीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शक्ति भुजेल भएको बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनको २०७७ फागुन ५ गते झापा साबिक बैगुनधुरा गाविस वडा नं. ९ स्थायी बासस्थान जिल्ला मोरङ, बाहुनी गाविस वडा नं. ८ साबिक बेलबारी नगरपालिका वडा नं. ७ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु बस्ने शक्ति भुजेललाई पक्राउ गरिएको हो ।

पक्राउ परेका भुजेलउपर १४ दिन कैद र ९२ लाख रुपैयाँ जरिवाना ठहर भएको जानकारी पनि सीआईबीका प्रवक्ता महतोले जानकारी दिए । नगद जरिवाना र कैदसहितको अदालतको फैसला सार्वजनिक भएलगत्तै फरार रहेका भुुजेललाई आइतबार काठमाडौंको बोहोराटारबाट पक्राउ गरिएको प्रवक्ता महतोको भनाइ छ । पक्राउ परेका भुजेललाई सोही दिन फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको जानकारी पनि सीआईबीले दिएको छ ।

२०७६ मा प्रतिवादी शक्ति भुजेलले विभिन्न व्यक्तिहरूलाई अष्ट्रेलिया पठाइदिन्छु भनी रकम लिएको र उक्त रकमबराबरको चेक पीडित व्यक्तिहरूलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी नबिल बैंकमा रहेको र आफ्नो नामको खाताबाट भुक्तान हुने गरी पीडित जाहेरवालालाई ९२ लाख रुपैयाँबराबरको चेकहरू काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लिखित सजाय हुने गरी फैसला भएको सीआईबीको भनाइ छ । प्रहरी उपरीक्षक महतोका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका–१ कुपण्डोल ठेगाना भएका ५० वर्षीय जबरालाई सोमबार प्रहरीले पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बिजुलीबजारबाट पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले जानकारी दिए । पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी नबिल बैंकमा जबराले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ४५ लाख रुपैयाँबराबरको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।

यसैगरी झापाको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका–५ बस्ने ताप्लेजुङ घर भएका ३६ वर्षीय नरेन्द्र तिम्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलासको २०७७ चैत ३० गतेको फैसला बैंकिङ कसुर मुद्दामा १५ दिन कैद, ३४ लाख जरिवाना र पीडित राहत कोषमा एक लाख ३६ हजार रुपैयाँ दाखिला गर्नुपर्ने ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले ताप्लेजुङबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापा चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया