Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसञ्चालनमा आयो माथिल्लो तामाकोशी, प्रधानमन्त्रीद्वारा उद्घाटन

सञ्चालनमा आयो माथिल्लो तामाकोशी, प्रधानमन्त्रीद्वारा उद्घाटन


काठमाडौं ।
राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गरेका छन् । आयोजनास्थल गोगर र प्रधानमन्त्री निवास बालुवाटार श्रव्य–दृश्यका माध्यमबाट जोडिएको थियो । प्रधानमन्त्री ओलीले श्रव्य–दृश्यका माध्यमबाट ‘क्लिक’ गरेपछि आयोजनाको पहिलो युनिट सञ्चालनमा आएको छ ।

आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विद्युत् सस्तोमा निर्यात गरेर आफ्ना उपभोक्तालाई महँगोमा बेच्न नहुने बताए । उनले नेपालका उद्योगमा विद्युत् उपभोगमा बढावा दिन पनि बिजुलीको मूल्य घटाउन आवश्यक रहेको बताए । उनले विद्युत् आपूर्तिका कारणले यस्तो भइरहेको भन्दै यस पक्षमा के गर्न सकिन्छ भनेर सरकारले ब्रिफिङ लिइरहेको बताए ।

प्रधानमन्त्री ओलीले तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएपछि खाना पकाउन विद्युत्को प्रयोग बढाउने वातावरण पनि तयार हुने जानकारी दिए । उनले आयोजनामा भएको लागतवृद्धिमा भने असन्तुष्टि जनाए । निर्माण अवधिको ब्याजतर्फ १८ अर्ब र लागत मात्रै १७ अर्ब गरेर ३५ अर्ब बढेको भन्दै उनले तामाकोशी निर्माण गर्न लाग्ने लागतबराबरकै लागत बढ्नु दुःखको कुरा भएको बताए ।

सो आयोजनाको पहिलो युनिट सोमबारदेखि सञ्चालनमा आएको छ । आयोजनामा छवटा युनिट छन् । नेपालको जलविद्युत् विकासको इतिहासमा नयाँ कोशेढुंगासमेत कायम भएको छ । स्वदेशी लगानीको हालसम्मकै सबैभन्दा ठूलो आयोजना निर्माण सुरु भएको झण्डै ११ वर्षपछि सम्पन्न भएको हो ।

प्राकृतिक विपत् तथा अन्य कारणले गर्दा आयोजना ढिलाइ हुन पुगेको हो । एउटा युनिट सञ्चालनमा आएको छ भने अन्य पाँचवटा युनिट क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको आयोजनाले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृह रहेको दोलखाको गोगरदेखि खिम्तीसम्मको कुल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिएको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सबस्टेसनबीचको लाइन चार्ज गरेको थियो ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृह रहेको गोगरबाट न्यू खिम्ती सबस्टेसन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । माथिल्लो तामाकोशीको विद्युत्गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेसनमा जोडिएको छ । स्वदेशी लगानीको ठूलो आयोजना निर्माणसम्पन्न हुन लामो समय लाग्दा अनेकन आशंका पैदा भएका थिए ।

सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो । आयोजनाको उद्घाटन भएपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा गरेको छ । सुरुआती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारण भने बढेर झण्डै ८० अर्बको हाराहारी पुगेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया