Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वसांसद कुमारीविरुद्ध ठगी मुद्दा

पूर्वसांसद कुमारीविरुद्ध ठगी मुद्दा


काठमाडौं ।
विघटित प्रतिनिधिसभाका समानुपातिक सांसद चाँद तारा कुमारीविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ का ३७ वर्षीय महमद आरिफ देवानले महिनौँसम्म चेक अनादर गरी आफ्नो पैसा फिर्ता नदिएकोले जाहेरी लिएर जाँदा जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गर्न नमानेपछि अदालतमा मुद्दा हालेका हुन् ।

सांसद चाँद कुमारी ताराले आफ्नो छोरालाई क्यानडा पढाउन पठाउनको लागि रकमको आवश्यकता परेको भन्दै देवानको १२ लाख रूपैयाँ लिएको आरोप छ। एक महिनाभित्र रकम फर्काउने भने पनि पछि आफ्नो खातामा पैसा नभएको थाहा पाएर पनि चेक काटेर दिएकी देवानले बताए ।

‘पैसा नदिएपछि ५ महिनाअघि नै प्रहरी कार्यालय पुगेको थिएँ तर २० दिनपछि आउनुस्, १० दिनपछि आउनुस् भनेर विभिन्न बहाना दिएर मुद्दा दर्ता नगरी प्रहरीले फर्कायो’, देवानले भने, ‘शुक्रबार पनि गएर मैले एसपी साबसँग भेटेर तोक लगाइएको पत्र मुद्दा फाँटमा लिएर जाँदा म्याद गुज्रियो भनेर जाहेरी दर्ता गर्न मानेनन् ।’ यसरी नै पटक–पटक प्रहरीले सांसदविरूद्ध जाहेरी लिन नमानेको र आलटाल मात्रै गरेको देवानले बताए।

बैंकिङ कसुरको मुद्दामा कसुर भएको थाहा पाएको मितिले एक वर्षभित्रमा जाहेरी दिन सक्नेछ। तर प्रहरीले सुरूमा आलटाल गरी मुद्दा दायर नगरेको र पछि हदम्याद नै गुजारेकोले बाध्य भएर अदालतमा न्याय माग्न आउनुपरेको देवानले बताए । १२ महिना विघटित प्रतिनिधिसभाको सांसद कुमारीकै पीए भएर काम गरेका देवानलाई भने कुमारीले चेक चोरी भएको भन्दै जाहेरी हालेकी थिइन् ।

पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले भने निषेधाज्ञाको कारण दर्ता गराउन नसकेको जिकिर गरे । ‘प्रहरीले बुझ्न बोलाउँदा पनि नआएपछि बैंकिङ कसुरमा सिधै अदालत जान मिल्ने भएकोले त्यहाँ जान सुझाव दियौँ । एउटै विषयमा दुईवटा दाबी आएपछि भेरिफाइ गर्नुपर्ने हुन्छ। तै पनि बैंकिङ कसुरको मुद्दा अदालतमै दर्ता गर्ने भन्ने हिसाबमा आयो’, उनले भने । बीचमा लकडाउनहरू भएको हुनाले अदालत पनि बन्द थियो त्यही कारणले भएन । सोही मुद्दा आइतबार पर्सा जिल्ला अदालतमा दर्ता भएको छ। 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया