Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचौतर्फी क्षेत्रको विकासको पथमा रुरुक्षेत्र गाउँपालिका

चौतर्फी क्षेत्रको विकासको पथमा रुरुक्षेत्र गाउँपालिका


बुटवल ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आगामी आर्थिक २०७८-७९ को वार्षिक नीति तथा कार्यक्रममा सबै क्षेत्रलाई समेटेर तयार गरेको छ । गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले सामाजिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, सुरक्षा व्यवस्थापन, स्थानीय तथ्याङ्क तथा अभिलेख व्यावस्थापनलगायत सबै क्षेत्रलाई समेटेर बजेट तयार पारेको बताए ।

अध्यक्ष गौतमले कृषि उत्पादन तथा व्यवस्थापन, बैंक वित्तीय संस्था तथा सहकारी, लघु घरेलु तथा उद्योग वाणिज्य, पर्यटन, रोजगार, पूर्वाधार विकास, ढल निकास, सिँचाइ, ऊर्जा, वातावरण संरक्षण तथा विपत् व्यावस्थापनलाई विशेष प्राथमिकता दिएको बताए । उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रको विकास जनस्तर उकास्ने मात्र नभई आर्थिकरूपमा सबल बनाउने प्रमुख आयाम भएको उनको भनाइ छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत छत्र बहादुर अधिकारीले व्यावसायिक कृषक, कृषि समूह, तथा कृषि सहकारीलाई प्रोत्साहित गर्ने, कृषि यन्त्र उपकरण तथा औजारमा अनुदानको व्यवस्था गर्ने, आँप, कागती, सुन्तला, लिची, मालबोक केराको हाइटेक नर्सरीको विकास गर्ने, बीउ बैंक स्थापना गरी किसानलाई कृषि प्राविधिकको सिफारिसअनुसार बीउ प्रयोग गर्न प्रेरित गर्ने, कृषि बीमा कार्यक्रम सञ्चालन गर्ने, बाली संरक्षण कार्यक्रम सञ्चालन गर्ने, तरकारी बाली नगदे बाली, फलफूल, दुध तथा मासुको बाजारीकरणका लागि प्रबन्ध मिलाउने, कोल्ड स्टोर निर्माण गर्नेजस्ता कार्यक्रमहरू गर्ने रणनीति तय भएको बताए ।

अधिकारीले पशुपन्छी बजार प्रवद्र्धनको लागि संकलन केन्द्र स्थापना गर्ने, पशुपन्छी बीमा कार्यक्रम लागू गर्ने, उन्नत नश्ल सुधार तथा कृत्रिम गर्भाधानको सेवासुविधालाई प्रभावकारी बनाउने, गोठ सुधार, भकारो सुधार तथा प्राङ्गारिक मल उत्पादन कार्याक्रमलाई कार्यान्वयन गर्ने, पारा भेटेनरी व्यवसायीको दर्ता, अनुमति, नवीकरण, खारेजी तथा नियमन गर्ने, स्थानीय हावापानीमैत्री पोषणयुक्त डाले घाँस र भुइँघास उत्पादन तथा संरक्षण गर्ने, अति विपन्न वर्गहरूलाई बाख्रा र स्थानीय जातका कुखुरापालन कार्यक्रममा अनुदानको व्यवस्था मिलाउने, कृषकहरूलाई प्राविधिक र पशु चिकित्सकीय सेवा उपलब्ध गराउने, सहुलियत पूर्ण ऋणको व्यावस्थापन गर्नको लागि सहजीकरण गर्ने कार्यक्रम रहेको बताए ।

आगामी आर्थिक वर्ष २०७८/७९ को लागि गाउँपालिकाले कुल ४८ करोड ५२ लाख रूपैयाँबराबरको अनुमानित बजेट विनियोजन गरेको छ । गाउँपालिकाका लेखा अधिकृत मनिष पाण्डेले अनुमानित बजेटको स्रोत पूर्तिको आधार अन्तरसरकारी वित्तीय हस्तान्तरण, आन्तरिक आम्दानी र राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम नै मुख्य भएको बताए ।

आन्तरिक आम्दानीका स्रोतहरूमध्ये नदीजन्य पदार्थ बिक्रीवितरण, दाउरा बिक्री, एकीकृत सम्पत्ति कर, व्यावसाय दर्ता तथा नवीकरणलगायतका क्षेत्रहरूबाट स्नानीय तहको स्रोत वृद्धिमा योगदान पुग्ने उनको भनाइ छ । वार्षिक ९० लाख रूपैयाँदेखि एक करोड रूपैयाँसम्म आम्दानी हुने जानकारी दिँदै पाण्डेले आन्तरिक आम्दानी वृद्धिको लागि करको दरभन्दा दायरा वृद्धिलाई बढी प्राथमिकता दिएको बताए । राजस्व अशुलीका लागि पालिकाका विभिन्न स्थानहरूमा शिविरहरू सञ्चालन गरेर जनतालाई कर तिर्नुपर्छ भन्ने सन्देश पनि दिँदै आएको उनले बताए ।

सबै व्यवसाय र क्षेत्रलाई अझै पनि करको दायराभित्र ल्याउन नसकिएको पाण्डेले बताए । कर तिर्ने सवालमा कतिले राम्रोसँग बुझेको भए पनि करको दायरामा आउन नचाहेको उनको भनाइ छ । पछिल्लो दुई वर्षमा महामारीका कारण आम्दानी नहुँदा कर तिर्न सर्वसाधारणहरूले अटेर गरेको उनले बताए । आन्तरिक आम्दानीमा राखिएको लक्ष्य प्राप्ति नहुनु र राजस्व बाँडफाँड सिलिङ अनुसार प्राप्त नहुँदा भुक्तानीमा समस्या देखापर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया