Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवैध भनिएको सगुन र एनआरएनएबीच सहकार्य गर्ने रहस्यमय सम्झौता

अवैध भनिएको सगुन र एनआरएनएबीच सहकार्य गर्ने रहस्यमय सम्झौता


काठमाडौं । नेपालमा अवैध भनिँदै आएको सगुन र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य गर्ने रहस्यमय सम्झौता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनबीच यही असारको दोस्रो साता सम्झौता भएको थियो । ती दुई निकायबीच आपसी सहकार्य गर्ने भन्ने विषयमा सम्झौता भएको भनिए पनि कुन–कुन विषयमा के–के गर्ने भन्ने विषयमा सम्झौता भएको अहिलेसम्म खुलेको छैन ।

सम्झौताअनुसार एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ–कमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरिएको थियो । त्यस्तै प्रवासमा रहेका नेपालीहरुद्वारा सुरु गरिएका नयाँ पुस्ताका स्टार्टअप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको थियो । गैरआवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका थिए ।

‘८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीहरुले सुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउँदै आएको छ। अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफूलाई स्थापित गरेर नेपाल, भारतलगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुनसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौैँ’, संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले उक्त सम्झौतापश्चात् भनेका थिए ।

सम्झौतापश्चात् सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । ‘अहिले झण्डै ६५ लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहनुभएको छ र ६५ राष्ट्रहरुबाट चार हजार पाँच सयभन्दा बढी लगानीकर्ताहरु हामीसँग जोडिनुभएको छ’, गिरीले भनेका थिए । सन् २०१५ मा औपचारिक रुपमा सुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् ।

सगुन प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो सेयर गर्छन्, आफ्ना साथीहरुसँग कुराकानी गर्छन् । साथै उनीहरुले कमाएको ‘स्मार्ट क्वाइन’हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्नसक्ने बताइएको छ । तर यति धेरै काम गरेको भनिएको सगुुनको लगानी एवं सगुनले गरेको कार्य नेपालमा भने गैरकानुनी रहेको पाइएको छ । सगुनले नेपालमा गैरकानुुनीरुपमा गरेको कार्यको जानकारी नेपाल धितोपत्र बोर्ड र सगुनबीचको मिनी आईपीओको नाउँमा भएको जुहारीले पनि खुलेको छ ।

सगुनको मिनी आईपीओमा लगानी नगर्नू : धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेसन कम्पनीमा लगानी नगर्न लगानीकर्तालाई यसअघि नै आग्रह गरिसकेको छ । सगुनको नामसमेत उल्लेख गरी बोर्डले २०७७ साउन १४ गते सूचना जारी गरी विदेशमा दर्ता भएका सगुनजस्ता अन्य कम्पनीको सेयरमा लगानी नगर्न आग्रह गरेको थियो ।

अमेरिकामा दर्ता भएको सगुनले नेपालका लगानीकर्तालाई लक्षित गरी मिनि आईपीओ जारी गरेको भन्दैै बोर्डले उक्त आग्रह गरेको थियो । नेपालीलाई अमेरिकी कम्पनीको मालिक बनाउने भन्दै सगुनले गरेको प्रचारप्रसार गैरकानुनी रहेको बोर्डको भनाइ थियो ।

बोर्डको स्वीकृतिविना नेपालमा धितोपत्रको निष्काशन गर्ने काम गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने बोर्डले जनाएको थियो । ‘सगुनजस्ता अन्य कम्पनी जसले बोर्डबाट स्वीकृति प्राप्त गरेका छैनन्, त्यस्ता कम्पनीको सेयरमा लगानी नगर्न आग्रह गरिएको हो’, तत्कालीन समयमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भनेका थिए, ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २७(१)मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने र दफा २९(१) मा संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था छ ।’

धितोपत्र बोर्डलाई सगुनको पत्र : सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी सगुनले त्यसपछि धितोपत्र बोर्डलाई एक पत्र लेखी नेपालबाट लगानी जुटाउने कम्पनीको कुनै मनसाय नरहेको बताएको थियो । धितोपत्र बोर्डले सार्वजनिक सूचना प्रकाशित गरी ‘विदेशमा दर्ता भएको सगुन इन्कोर्पोरेसनजस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको’ भन्ने भनाइमा कुनै सत्यता नरहेको पनि उसले जवाफ फर्काएको थियो ।

सगुन नेपाल प्रालिद्वारा बोर्डलाई पठाइएको पत्रमा ‘नेपालको कानुनअनुसार नेपालको धितोपत्र बजारबाट रकम जुटाएर विदेशमा लगेर लगानी गर्न प्रतिबन्ध लगाइएकाले सगुनले नेपालमा लगानीकर्ताहरुबाट रकम उठाउन चाहेको भन्ने भनाइ सरासर गलत छ । हाम्रो अहिले वा निकट भविष्यमा पनि त्यस्तो कुनै योजना छैन’ भनी स्पष्टीकरण दिएको थियो ।

त्यसैले धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा २७.१ तथा २९.१ आफ्नो कम्पनीको हकमा आकर्षित नहुने पनि सगुनले स्पष्ट पारेको थियो । ‘संयुक्त राज्य अमेरिका, भारत तथा नेपालमा सम्बन्धित मुलुकका कानुनहरुको पूर्ण परिपालना गरी सञ्चालनमा रहेको यो कम्पनीले नेपालको कानुन उल्लंघन नगर्ने उसको दाबी थियो।

नेपालको धितोपत्र बजारबाट रकम जुटाएर विदेशमा लगानी गर्ने यस कम्पनीको कुनै मनसाय नरहेकोले नेपाल धितोपत्र बोर्डमा दर्ता नगरेको सगुनको भनाइ छ । ‘त्यसैले धितोपत्र बोर्डमा दर्ता नभएको कम्पनीलाई लगानीकर्ताहरुलाई आकर्षित गर्न खोजेको आरोप लगाउनु तथा त्यो उद्देश्यले कुनै पनि सूचना तथा विज्ञापन प्रकाशन र प्रसारण नगर्न र नगराउन त्यस कार्यालयबाट जारी सूचना असान्दर्भिक रहेको समेत अनुरोध गर्न चाहन्छौँ’, कम्पनीले भनेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया