Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइच्छाराज तामाङको ज्यादती र सहकारी व्यवस्थाको बदनाम

इच्छाराज तामाङको ज्यादती र सहकारी व्यवस्थाको बदनाम


काठमाडौं । ठगी, चोरी, डकैती, लुटपाट र हत्या आदि कुनै पनि किसिमको सानो वा ठूलो गैरकानुनी काम गर्नेलाई भोलि नभनी कारबाही गर्ने व्यवस्था र चलन हाम्रो देशमा पनि छ । यस्तालाई बेलाबखत पक्राउ गरी काम कारबाही गरेका समाचार हाम्रा अखबार, पत्रिकामा पनि बेलाबखत देखिन्छ ।

तर विभिन्न किसिमका बैंक, वित्तीय संस्था जस्तै जनताबाट. अर्बौँ रकम उठाई जनता ठग्ने सहकारी संस्थालाई भने कुनै कारबाही नहुने अर्थात् यो सहकारी भन्ने नामको संस्था जनता ठग्नको लागि कानुनी रुपमै अधिकार प्राप्त ठगी गर्न स्थापित संस्था भन्नेजस्तो हाल देखिनआएको छ । यो कुरा सोल्टिमोडस्थित सिभिल सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ नामको सहकारी संस्थाको हालको क्रियाकलापबाट स्पष्ट देखिन्छ । यस संस्थाले विभिन्न स्किमको आकर्षण देखाई जनताबाट ७/८ अर्ब रुपैयाँ उठाई आफूखुसी मनपरी प्रयोग गरी अब आई यसका बचतकर्ता, मुद्दतीकर्ताहरूलाई केही वर्षदेखि सावाँ मात्र होइन ब्याजसमेत नदिई मरणान्त अवस्थामा पु-याइरहेको दुःखद कुरा विभिन्न अखबार, पत्रिका, टेलिभिजनबाट जानकारी हुन्छ ।

यसका हजारौँ हजार पीडितहरूले समिति समेत खडा गरी रकम प्राप्ति न्यायको लागि रोइकराइ नपुकारेको, उजुरी नगरेको कुनै ठाउँ नै बाँकी देखिँदैन । तर यस सहकारी संस्थाका प्रमुख संस्थापक हर्ताकर्ता, सिभिल ग्रुपका अध्यक्ष, सिभिल बैंकका वर्तमान अध्यक्ष, नेकपा एमाले पार्टीका पूर्वसांसद इच्छाराज तामाङ कुनै किसिमको लाजसरम, डरभर आफूलाई यसबाट सजाय हुन्छ भन्ने भय त्रास समेत रत्तिभर पनि नलिई विना चिन्ता आनन्दले हिँडिराखेका छन् । र उनलाई कुनै किसिमको कारबाही भएको पनि देखिँदैन ।

निज तामाङले हाल बाहिर देखाउनको लागि केशवलाल श्रेष्ठ नामको व्यक्तिलाई संस्थाको अध्यक्षको रूपमा उभ्याएका छन् । निज श्रेष्ठ संस्था डुबाई व्यक्तिगत फाइदा उठाउने काममा तामाङलाई उक्साई आफू पनि मुख्य भाग खाने निज तामाङको मूल सहयोगी, षड्यन्त्रकारीको रुपमा चिनिन्छन् ।

यस सहकारीका हाल अध्यक्ष हुने निज श्रेष्ठले थरिथरिका झूठा आश्वासन दिई पीडितहरूलाई अलमल्याउने काम एकातिर गरी अर्कोतिर धरहरास्थित सीटीसी मलको ५० लाखमा पनि नबिकेको पसल दुई करोड मोल राखी पीडितलाई किन्न दबाब दिने र खरिद गर्न नचाहनेलाई पछि आफ्नो रकम डुब्ने भय त्रास देखाउने गरिआएको पनि सुनिन्छ । निज तामाङ पहिले नेकपा एमाले पार्टीको सांसद रहेको र यही धाक रवाफले उनले पीडितहरूलाई तर्साउने गरेकोले यसबाट नेकपा एमाले पार्टी, वर्तमान ओली सरकारप्रति पनि जनताको नराम्रो धारणा हुन गएको देखिन्छ ।

मुलुकमा सरकार छ, कानुन छ, शासन व्यवस्था छ र सहकारी भन्ने संस्था ठगी गर्न राखिएको कानुनअन्तर्गतको संस्था होइन भने इच्छाराज तामाङलाई तुरुन्तै पक्राउ गरी भोलि नभनी जनताको रकम भुक्तानी दिलाउनुपर्ने देखिन्छ । साथै निजलाई सिभिल बैंकको अध्यक्ष पदबाट पनि तुरुन्तै हटाउनुपर्ने देखिन्छ । अन्यथा मुलुकमा सहकारी नामको कुनै पनि संस्था ठगी गर्ने संस्थाको रूपमा जनतामा स्थापित हुन गई मुलुकमा सहकारी व्यवस्था समेत लोप भएर जाने निश्चित छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया