Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्र पुनरुत्थानलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन आग्रह

अर्थतन्त्र पुनरुत्थानलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन आग्रह


काठमाडौं ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले अर्थतन्त्र पुनरुत्थानलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । सेजनका अध्यक्ष भीमप्रसाद गौतमले बिहीबार गभर्नर महाप्रसाद अधिकारीलाई ३५ बुँदे सुझाव दिँदै कोडिभ १९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पु-याएकोले अर्थतन्त्र पुनरुत्थानलाई नै ध्यानमा नीति ल्याउन आग्रह गरेका हुन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सेजनको भनाइ छ । ‘राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाइरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ’ सेजनले भनेको छ, ‘यसबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न मौद्रिक नीतिसामु चुनौती थपिएको छ ।

एकातिर वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत समेत दिनुपर्ने परस्परमा विरोधी (म्युचुअल्ली एक्सक्लुसिभ) विषयहरूलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको छ ।’ सेजनले कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणलाई निरन्तरता दिन, ऋणीको कर्जा तिर्ने क्षमता विश्लेषण गरी ६ महिना थप गर्न, ऋणीहरूलाई संरक्षणका लागि उद्योग, व्यवसायको वर्गीकरण र पुनर्संरचना र पुनर्तालिकीकरणको खाका राष्ट्र बैंकले तयार गरी सो खाकाभित्र रहेर ग्राहकले सम्बन्धित बैंक तथा वित्तिय संस्थासँगै नेगोसिएट गर्नसक्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

यस्तै कुल कर्जाको २० प्रतिशतसम्म चालू पुँजी (वर्किङ क्यापिटल)को व्यवस्था गर्ने, मर्जर र एक्विजिसनलाई दबाबमूलक नभई स्वेच्छिक बनाउने, ग्राहक पहिचानसम्बन्धी व्यवस्थालाई अनलाइन गर्ने कार्यलाई व्यापकता दिने, प्रत्यक्ष, वैदेशिक लगानी, भेञ्चर क्यापिटल, तथा नाफा फिर्ता (रिप्याट्रेशन)लाई समेत सहजीकरण गर्ने, आगामी वर्ष निजी क्षेत्रमा जाने कर्जा न्यूनतम पनि २० प्रतिशतले बढाउनुपर्ने व्यवस्था गर्न सुझव दिएको छ ।

पुनर्कर्जाको अवधि न्यूनतम एक वर्ष कायम गर्नुपर्ने, आगामी वर्षमा मार्जिन लेन्डिङको सीमामा पुनर्विचार गर्नुपर्ने, पर्यटन क्षेत्रलाई अधिकतम भेन्टिलेसन प्रदान गर्ने, रियल स्टेट, सवारीसाधन कर्जामा केही लचकता अपनाउन ‘लोन टु भ्यालु रेसियो’ बढाउने, उद्यमशीलता र रोजगारीका अवसर विस्तार गर्न राष्ट्र बैंकको प्राथमिकता प्राप्त कर्जा कार्यक्रमअन्तर्गत सबै खाले एसएमईहरूले कर्जा प्राप्त गर्नसक्ने व्यवस्था गर्ने, लघु तथा घरेलु र साना उद्यमका लागि २० लाखसम्मको परियोजनामा आधारित फाइनान्सिङको व्यवस्था गर्नेलगायतका व्यवस्था गर्न पनि सेजनले राष्ट्र बैंकलाई सुझाएको छ ।

गभर्नर अधिकारीले सेजनले यथार्थपरक सुझाव दिएको भन्दै आगामी मौद्रिक नीतिका विषयमा विभिन्न सरोकारवालाहरूसँग राष्ट्र बैंकले छलफल गरेको बताए । उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणलाई आत्मविश्वास मर्न नदिएको बताए । उनले आगामी मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने खालको नै ल्याउने बताए ।

‘चालू वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौँ । हामीले सबै सरोकारवालाहरूसँग छलफल पनि गरिसकेका छौँ । उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नै कोसिस गर्नेछौँ’, उनले भने । सेजन अध्यक्ष गौतमले कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे । कार्यक्रममा डेपुटी गभर्नरद्वय बम बहादुर मिश्र र निलम ढुंगाना, कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकालसहित सेजन सचिव कृष्ण रिजाल र कोषाध्यक्ष हिमाल पौडेल सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया