Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलु–काठमाडौं सवारी सुचारु

सोलु–काठमाडौं सवारी सुचारु


सोलुखुम्बु, माघ ७
आन्दोलनका कारण तीन दिनदेखि अवरुद्ध बनेको सोलुखुम्बु–काठमाडौं सवारी सोमबारदेखि सुचारु भएको छ । ग्रामीण विद्युतीकरणको माग गर्दै तिङलाबासीले गरेको आन्दोलनका कारण शनिबारदेखि ठप्प बनेको सवारी सञ्चालन सोमबारबाट खुलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मुख्य हाइड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत् विस्तार नभई पत्तालेबाट केन्द्रीय लाइन उद्घाटन गर्न लागेको भन्दै शनिबारदेखि उनीहरु आन्दोलित बनेका छन् । आफूहरुको सवारी बन्द गर्ने योजना नभए पनि प्रशासनले भने सुरक्षाको कारण देखाउँदै आइतबार पनि यातायात सञ्चालन हुन नदिएको तिङलाबासीको दाबी छ ।

यता प्रहरी प्रसाशनले भने ठाउँ–ठाउँमा रुख ढालेर सडक अवरुद्ध भएकाले यातायात ठप्प भएको बताएको छ । शनिबार प्रतिनिधिसभा सदस्य हेम कुमार राई ‘सुरवीर’सहित अन्य जनप्रतिनिधि तथा सांसदहरुले केन्द्रीय विद्युत् प्रसारणलाइनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर तिङलाबासीले भने प्रभावित क्षेत्र तिङलामा विद्युत् विस्तार नगरी पत्तालेबाट विद्युत् उद्घाटन गर्नलागेको भन्दै कार्यक्रम बहिष्कार गरेका थिए । उनीहरुले बिहीबार नै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सल्लेरी र जिल्ला प्रसाशन कार्यालयमा समेत ज्ञापनपत्र पेस गर्दैै तिङला बन्दको घोषणा गरेका थिए । तर आयोजक पक्ष भने समस्याको समाधानभन्दा पूर्वनिर्धारित कार्यक्रमअनुसार नै कार्यक्रम स्थल जाँदा अवस्था असामान्य बनेको थियो । झडपमा ११ वटा मोटरसाइकल र एउटा बोलेरो जिपमा आगजनी समेत भयो ।

क्षति भएका सवारीसाधनहरु कार्यक्रममा सहभागी हुन गएका अतिथिहरुको रहेको जिल्ला प्रसाशन कार्यालय सोलुखुम्बुले जनाएको छ । आन्दोलनरत पक्षले शान्तिपूर्ण आन्दोलन गर्दा आयोजक र जनप्रतिनिधि स्वयम् नै गुन्डागर्दीको शैलीमा रड र हेलमेड प्रार गर्दै अघि बढेकाले आत्मरक्षाका लागि ढुंगामुढा प्रहार गरेको तिङलाबासीको दाबी छ । यता आयोजक पक्षले भने पूर्वनिर्धारित योजनाअनुसार नै अतिथिसहित कार्यक्रमस्थल पुग्दा आफूहरुमाथि आक्रमण भएको आरोप लगाएका छन् । कार्यक्रममा तनावको स्थिति सृजना भएपछि प्रहरीले अश्रु ग्याससँगै हवाइ फायर नै गर्नुपरेको थियो । घटनामा दुवै पक्षका केही व्यक्तिहरु घाइते समेत भएका छन् । यद्यपि प्रशासनले भने घाइतेको संख्या सार्वजनिक गरेको छैन । फितलो सुरक्षा व्यवस्थापन र समस्याको समाधानतर्फ ध्यान जान नसक्दा ठूलो क्षति भएको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया