Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘नेपाल अब भूपरिवेष्ठित रहेन’

‘नेपाल अब भूपरिवेष्ठित रहेन’


काठमाण्डौँ,माघ ७
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल अब भूपरिवेष्ठित देश नरहेको बताएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिको २३औं वार्षिकोत्सव तथा रसद २०७६ विमोचन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री भट्टले भारतसँग भूमार्गको मात्रै विगतमा रहेको भनिने गरिएकोमा जल यातायात, रेल यातायात, सुरुङमार्गसम्बन्धी सम्झौता र आयोजनाहरुले नेपाल भूपरिवेष्ठित मात्रै हो अब भन्न नपर्ने देखिएको बताएका हुन् । ‘नेपाल अब भूपरिवेष्ठित रहेन । हवाइमार्गबाट होस वा अन्य स्थलमार्गबाट होस हामी पहिले जस्तो भूपरिवेष्ठित नै भन्नुपर्ने अवस्था छैन’, उनले भने । मन्त्री भट्टले सरकार परिवर्तित सत्ताअनुरुपको ऐन कानुन र संरचना निर्माणमा लागेको पनि बताए । उनले नेपाल इन्टरमोडलको नेपाली नामाकरण गर्न सकिन्छ कि भन्नेमा सोच्नुपर्ने हो कि भन्ने सुझाव दिए । सरकार आर्थिक विकास र समृद्धिको दिशामा रहेको भन्दै उनले सबै मिलेर मात्रै उद्देश्य पूरा गर्न सकिने बताए । कार्यक्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका अध्यक्ष वैकुण्ठ अर्यालले पनि नेपाल भूपरिवेष्ठितबाट भूजडित भएको बताए ।

भारत र चीनतर्फ निर्माण भएका वा तयारीमा रहेका सुख्खा बन्दरगाहहरु उदाहरणका रुपमा रहेको उनले बताए । अध्यक्ष अर्यालले मोरङको बुधनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटन मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने जानकारी दिए । भिडियो कन्फ्रेन्समार्फत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्दै छन् । भारतीय पक्षले निर्माण गरी नेपाललाई हस्तान्तन्तरण गर्न लागेको आईसीपी मंगलबारदेखि कार्यान्वयनमा आउनेछ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सुख्खा बन्दरगाहको अवधारणाले वैदेशिक व्यापार प्रवद्र्धनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । तथापि केही अप्ठ्याराहरु रहेको उनले बताए । विकास निर्माणमा मुआब्जाका नाममा हुने अवरोधहरु समस्याको रुपमा देखा पर्ने गरेको भन्दै मन्त्री दुगडले सबैले विकासमा अवरोध सिर्जना हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए । नागरिक समाज पनि विकासमा हुने अवरोध हटाउनका लागि जागरुक हुनुपर्ने उनको भनाइ रहेको छ ।

पूर्वसचिव पुरुषोत्तम ओझाले आईसीटी विकास गर्ने सम्बन्धी कानुन जतिसक्दो छिटो बनाइनुपर्नेमा जोड दिए । यातायात विकास समितिलाई अधिकार सम्पन्न स्वतन्त्र प्राधिकरण बनाएर काम अगाडि बढाउनुपर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरुले माग गरे । नेपाल फ्रेट फरवार्डस एसोसिएसनका अध्यक्ष प्रकाश सिंह कार्कीले राष्ट्रियस्तरबाट मात्रै टेण्डर हुने गरी कानुन निर्माण गरिनुपर्ने माग गरे । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवराज ढकालले समितिले आर्थिक वर्ष २०७५÷०७६ मा भएका कामहरुको ब्रिफिङ गरेका थिए । उनले आन्तरिक पानी जहाज निर्माणको कार्य अगाडि बढेको, यसमा लागि आवश्यक ऐन निर्माणका लागि मस्यौदा तयार भएर अगाडि बढेको जानकारी दिए । कार्यकारी निर्देशक ढकालले कोरला नाका सुख्खा बन्दरगाह निर्माणको कार्य समेत अगाडि बढेको बताए । समितिले वर्षभर भए÷गरेका कामहरुलाई समेटेर ‘रसद’ नामक स्मारिका विमोचन पनि गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया