Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरका दुई अभियुक्त पक्राउ

बैंकिङ कसुरका दुई अभियुक्त पक्राउ


काठमाडौं । केन्द्र्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरका दुुई जना फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार बैंकिङ कसुर मुद्दामा हालसम्म फरार काठमाडौं टोखाका मिलन डंगोल र देवनारायण महर्जनलाई पक्राउ गरिएको हो ।

ब्युरोबाट खटिएको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दाहरूमा उच्च अदालत पाटनले कसुर ठहर गरेका डंगोल र महर्जनलाई सोमबार पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये डंगोललाई टोखाबाट र महर्जनलाई कलंकीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए । डंगोलमाथि सात दिन कैद र १५ लाख रुपैयाँ जरिवाना र महर्जनउपर पाँच दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । दुवै अभियुक्त लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झुक्याएर नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका विभिन्न रकमका चेकहरू काटी दिएका थिए । उच्च अदालत पाटनले दुवैविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम सजाय हुने फैसला सुनाएको थियो ।

यसैगरी महानगरीय अपराध महाशाखा मीनभवनले पनि जापान पठाउने नाममा पैसा ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार सोमबार ठगीको आरोपमा काठमाडौंको नयाँ बानेश्वर बस्ने सुभद्रा परियार, इलामको अन्तु घर भई हाल काठमाडौको नयाँ बानेश्वर नै बस्ने पूजा राई, सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको कपन बस्ने राजेन्द्र ढकाल र भक्तपुरको चाँगुनारायण नगरपालिका बाँसबारी बस्ने दिपिका केसीलाई पक्राउ गरिएको हो ।

उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा तान्का योका नामको फेसबुक खाता खोलेर त्यसबाट फ्रेन्ड रिक्वेस्ट पठाई ठगी गर्ने गरेका थिए । सो क्रममा उक्त खाताबाट आफू जापानको इमिग्रेसनमा काम गर्ने जापानको नागरिक हो भनी पीडितहरूसँग चिनजान गरी जापान जान वर्किङ भिसा प्रक्रियाको लागि रकम पठाउनुपर्छ भन्दै विभिन्न बैंक खातामा ३९ लाख ६८ हजार नौ सय ९६ रुपैयाँ डिपोजिट गर्न लगाएको खुलेको छ ।

प्रहरीका अनुसार जापान नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया