Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप खोप उपलब्ध गराउन आग्रह

थप खोप उपलब्ध गराउन आग्रह


काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् खोप उत्पादक देशलाई अनुदान वा खरिदमार्फत कोरोनाविरुद्धको खोप नेपाललाई उपलब्ध गराइदिन आग्रह गरेको छ । सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दिएको जानकारीअनुसार बैठकले कोरोनाविरुद्धको खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका सबै मित्र राष्ट्रलाई धन्यवाद दिएको छ । कोरोनाविरुद्धको लडाइँमा नेपाललाई विभिन्न मित्र राष्ट्रले स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएका छन् ।

चीन सरकारले नेपाललाई दुई चरणमा गरेर १८ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । यस्तै, थप परिमाण भने सरकारले खरिद गरेको छ । भारतबाट नेपाली सेनालाई गरी ११ लाख मात्रा खोप अनुदानमा प्राप्त भएको छ । अमेरिकाले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार आठ सय ५० मात्रा खोप उपलब्ध गराएको छ । ती देशबाट प्राप्त खोप निरन्तर लगाइराखिएको छ ।

नेपालमा सोमबार थप दुई हजार चार सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या सात लाख १८ हजार चार सय ९४ पुगेको छ । थप सात हजार आठ सय ३३ जनाको पीसीआर परीक्षण तथा तीन हजार आठ सय ३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार छ सय ४२ तथा एन्टिजेनबाट आठ सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म छ लाख ३३ हजार तीन सय ३२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार दुई सय ५८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यस्तै, काठमाडौँ उपत्यकामा पछिल्लो समय चार सय ७४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा तीन सय ३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रदेश नं १ मा सोमबार तीन सय ६६ जना कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएको सङ्क्रमितमध्ये सुनसरीका एक सय ३८, झापाका एक सय २२, मोरङका ८१, धनकुटाका नौ, इलामका छ, उदयपुरका दुई, सङ्खुवासभा, भोजपुर र उदयपुरका एक/एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।

योसँगै हालसम्म प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७८ हजार पाँँच सय ५५ पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ७१ हजार चार सय २६ पुगेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ६१ रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार चार सय ८६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ महिला र एक सय ९९ पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ । मन्त्रिपरिषद्को बैठकले ती दुई जिल्लालाई आगामी असोज मसान्तसम्म विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको हो ।

साउन ६ गते सार्वजनिक विदा : सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘बकर इद’ को अवसरमा यही साउन ६ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीले आफूहरूको महत्वपूर्ण पर्वको अवसरमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेका थिए । सोही मागका आधारमा सरकारले विदा दिने निर्णय गरेको हो । सरकारले भारतमा साताको तीन उडान गर्ने निर्णय गरेको छ । कोरोनाका कारण नियमित उडान तालिका यसअघि तलमाथि भएको थियो । हाल भारतमा साताको दुई उडान भइरहेको थियो । परिषद्को निर्णयपछि थप उडान हुनेछ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया