Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसार्वजनिक यातायातको नवीकरणको म्याद थप

सार्वजनिक यातायातको नवीकरणको म्याद थप


काठमाडौं । सरकारले सार्वजनिक यातायातको नवीकरण गर्ने म्याद थप गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक यातायातको जाँचपास, प्रदूषण जाँचपास र रुट इजाजत पत्रको नवीकरणको म्याद यही साउन मसान्तसम्मका लागि थप गरेको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार २०७८ वैशाख १६ गतेदेखि विभिन्न मितिमा जाँचपास, प्रदूषण जाँचपास र रुट इजाजतपत्रको म्याद सकिएका सार्वजनिक यातायातका साधनहरूले उक्त सुविधा पाउनेछन् ।

सरकारले गत वैशाख १६ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञाको बेला मानिसहरूको धेरै भीड हुने यातायातलगायतका अधिकांश सरकारी कार्यालयहरू बन्द गरिएका थिए । यातायात कार्यालय त लामो समय बन्द हुँदा कुनै पनि काम भएका थिएन ।

सरकारले सार्वजनिक यातायात पूर्ण रुपमा अझै पनि सञ्चालनको अनुमति दिएको छैन । एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्न अझै पनि विभिन्न बाधा तथा अड्चन छन् । कुनै जिल्लाले सार्वजनिक यातायात सञ्चालन गर्न दिएको छ भने कुनै जिल्लाले दिएको छैन । यसले गर्दा यातायातका साधनहरू नवीकरण गराउने यातायात कार्यालय पुग्न नै समस्या छ । साउन लागेपछि सार्वजनिक यातायात सञ्चालनमा केही सहजता भएको कारण साउन मसान्तसम्मको म्याद दिएर नवीकरण गर्न भौतिक मन्त्रालयले सूचना प्रकाशित गरेको हो ।

जिल्लाहरूलाई नै निषेधाज्ञाबारे निर्णय गर्न अधिकार दिएको कारण विभिन्न जिल्लाले पटक–पटक निषेधाज्ञा लगाएका छन् । जिल्लाभित्र देखिएको कोभिडको अवस्थाअनुसार यातायात सञ्चालन गर्न दिइएको छ । एउटै निर्णयले एकै पटक यातायातका साधन बन्द र सञ्चालन भएका छैनन् ।

कोरोनाको कारण फेरि यातायात सञ्चालन बन्द भएमा पुनः अर्को पटक पनि म्याद थप हुने भौतिक मन्त्रालयका एक अधिकारीले जानकारी दिए । तर, अहिलेसम्म त्यस्तो अवस्था नदेखिएको कारण साउन मसान्तसम्म नवीकरण गर्न म्याद थप गरिएको हो । साउन मसान्तसम्म नवीकरण गरेमा कुनै पनि सार्वजनिक सवारीसाधनले जरिवाना तिर्नुपर्नेछैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया