Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी क्षेत्रको लगानी अभिवृद्धिका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार

निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए ।

प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने बताए । उनले नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको संकटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि बताएका थिए ।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए । उनले नीतिगत सहजीकरणमार्फत लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गरे । ‘आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन हामी प्रयासरत छौँ,’ उनले भने, ‘यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ ।’ अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताए । यसैगरी परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान संकटसँग जुध्न कोभिडविरुद्धको खोप आवश्यक भएको भन्दै त्यसको उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा परिसंघका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्याल र निर्देशक सविन मिश्रको उपस्थिति थियो ।

यसअघि परिसंघको प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको थियो । अर्थमन्त्री शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि परिसंघले अघि बढाएको ’मेक इन नेपाल – स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताएका थिए । आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको भन्दै उनले निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो सदैव साथ रहने उल्लेख गरे ।

‘मैले मन्त्री भएलगत्तै तथ्यांकहरू हेरेँ, हाम्रो आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिति पनि कम रहेको देखेँ,’ शर्माले भने, ‘यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी छ, त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्छ ।’ अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैं साथमा लिएर अघि बढ्ने पनि बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया