Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन

नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन


रुपन्देही, माघ ८

करिब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल– भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा सम्पर्क गरी पठाएका रहेछन् । सीमानाकामा प्रहरी तथा सङ्घसंस्थाका पदाधिकारीले सोधपूछ गरे खोकीको औषधि किन्न सुनौली जान लागेको भनी झुटो बोल्न दलालले सिकाए अनुसार आफू रुपन्देहीमै बस्ने र सुनौलीमा औषधि सस्तोमा पाइने भएकाले किन्न जान लागेको बताइन् । माइती नेपालका कर्मचारीले उनलाई धेरैबेर लगाएर सोधपूछ गरेपछि आफ्नो इलाम घर भएको र रोजगारीका लागि विदेश जान लागेको भेद खुलाइन् । पछि उनलाई माइती नेपालले परिवारको जिम्मा लगायो ।तीन महिना अगाडि रुपन्देहीको धकधइका दुई किशोरीलाई दुइ महिलासँग रुपन्देहीको भगवानपुर नाकाबाट भारत जाँदै गर्दा भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रमा रोक्यो । सोधपूछका क्रममा आफूहरु आमा छोरी भनेर बताए पनि पटक पटक कुरा फेरेपछि उनीहरुलाई माइती नेपाल भैरहवाको जिम्मा लगाइएको थियो ।

बेचबिखनका लागि लैजाने दुई महिला अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियन्त्रणमा छन् । उनीहरूविरूद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलिरहेको छ ।गत कात्तिक १५ गते भारतको मुम्बईबाट २२ वर्षीया महिलालाई दुई वर्षीया छोरीसँगै उद्धार गरियो । चितवनको भरतपुर घर भएकी तिनले विगत तीन वर्षदेखि मुम्बईमा देहव्यापारमा गर्दैआएकी थिइन् । भारतीयसँग विवाह गरेकी उनलाई जबर्जस्ती श्रीमान्ले देहव्यापारमा लगाएका थिए । विभिन्न सङ्घसंस्था र भारतीय प्रहरीको सहयोगमा माइती नेपालको सम्पर्कमा आएपछि सोधपूछ गर्दा आफ्नै श्रीमान्ले भारत लगेर देह व्यापारका लागि बाध्य बनाएको तथ्य खुल्यो । छोटो समयमै प्रशस्त धन कमाउने प्रलोभनमा फस्दा विभिन्न जिल्लाका महिला तथा किशोरीहरु भारतमा बेचिन पुगेका छन्, यो क्रम रोक्न सकिएको छैन । माइती नेपालका संयोजक माया क्षेत्री भन्छिन्, ‘रोजगारीमा जाने महिलालाई दलालले लिएर आउँदैनन् । होटलमा सम्पर्क गर्छन् । काठमाडौँ बोलाउँछन् । एक–ढेड महिना कोठामा राख्छन् । अब नेपालको बाटो जान पाइएन भारतबाट जानुपर्छ भनेर भारतमा लगेर बेच्छन् ।’ उनले खुल्ला सिमानाका कारण नेपालका महिलाहरु सजिलै भारत पुग्ने गरेको बताइन् । माइती नेपाल भैरहवाको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा सीमा क्षेत्रबाट ८१ जना र भारतका विभिन्न स्थानबाट सात जनाको उद्धार गरिएको छ । आर्थिक वर्ष २०७२÷७३ मा २८९ जनालाई सीमा क्षेत्र र ३५ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको थियो । आव २०७३÷७४ मा सीमा क्षेत्रबाट २५० जना र भारतबाट नौ जनाको उद्धार गरिएको छ । यस्तै, आव २०७४÷७५ मा सीमा क्षेत्रबाट २७२ जना र भारतबाट १० जनाको उद्धार गरिएको छ । आव २०७५÷७६ मा भारतीय क्षेत्रबाट उद्धार गरिएकाको सङ्ख्या ५० रहेको छ भने सीमा क्षेत्रबाट २५३ जनाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

यो सङ्ख्या माइती नेपालको सम्पर्कमा आएकाहरूको मात्र हो ।भारत जान सीमानाकासम्म आउने महिला तथा किशोरीको साथमा केही हुँदैन । कागजपत्र र कपडा समेत दलालको नियन्त्रणमा हुने गरेको संयोजक क्षेत्रीको अनुभव छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकको आधारमा नेपालमा वार्षिक २०० देखि ३०० को सङ्ख्यामा मानव बेचबिखनको उजूरी पर्ने गरेको छ । प्रहरीको तथ्यंक अनुसार नेपालमा एक वर्षमा झण्डै १४ हजार मानिस हराउने र केवल ४७ प्रतिशत मात्र फेला पर्ने गरेको देखिन्छ ।नेपाल सरकारकै नेतृत्वमा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागिएका ३०० भन्दा बढी ब्यक्तिलाई उद्दार गरिएको छ । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्राप्त तथ्यांक अनुसार अघिल्लो आवमा मानव बेचबिखन विरुद्धको उजूरी ३०५ रहेको थियो । आव २०७४÷७५ र २०७५÷७६ को असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने प्रदेश नं ५ मा सबैभन्दा बढी १२२ वटा उजुरी परेको देखिन्छ ।(रासस)


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया