Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजोन्सनको खोप घोटालामा इरा अस्पतालको संलग्नता

जोन्सनको खोप घोटालामा इरा अस्पतालको संलग्नता


काठमाडौं । खोप नै हराएको चर्चा भइरहेको समयमा ५३ र ५४ वर्ष उमेर, पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई लगाइने भन्दै सुरु गरिएको खोप अभियानमा पहिलो दिनमा नै घुसपैठ भएको छ । सरकारको नीतिलाई चुनौती दिँदै भानु ढकाललगायत सञ्चालक रहेको काठमाडौं सोह्रखुट्टेको इरा इन्टरनेशनल अस्पतालमा लगाइएको खोपमा व्यापक अनियमितता भएको हो ।

सरकारले अमेरिकी सरकारबाट कोभ्याक्स सुविधामार्फत नेपाललाई १५ लाख ३४ हजार आठ सय ५० डोज उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यकासँगै देशका विभिन्न खोप केन्द्रहरुमा अभियान सञ्चालन गरी लगाउँदै आएको छ ।

खोप अभियानमा घुसपैठ गरेको विषयमा सञ्चालक ढकालले आफ्नो अस्पताल भए पनि के भइरहेको छ आफूलाई थाहा नहुने बताए । पछिल्लो समय काठमाडौंका अस्पतालहरुलाई खोप बिक्री गरेको भन्ने आरोप लाग्दै आएको समयमा इरा अस्पतालले मंगलबार ३१ वर्ष उमेरसम्मकोलाई सो खोप लगाएको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रबाट जोन्सन एण्ड जोन्सन खोपको शुभारम्भ गरेका थिए । प्राथमिकतामा परेका भन्दा बाहिरका मानिसहरुको चाप खोप केन्द्रमा परेको अवस्थामा नै सरकारले छुट्याएको उमेर समूहभन्दा बाहिरको मानिसहरुलाई सो इरा अस्पतालले खोप लगाएको पाइएको छ ।

६ गतेसम्म चल्ने खोप अभियानका लागि स्वास्थ्य कार्यालय काठमाडौंले खोप केन्द्रको संख्या बढाएर ५५ वटा खोप केन्द्रबाट मंगलबार खोप लगाएको थियो । पछिल्लो समय राम्रालाई होइन हाम्रालाई भनेजस्तै खोप अभियानमा समेत छुट्याइएको उमेर समूहभन्दा बाहिर गएर आफ्ना नातागोता, इष्टमित्र, साथीभाइहरुलाई खोप लगाइएपछि लक्षित उमेर समूहले नपाएको भन्दै व्यापक गुनासो बढ्दै गएको छ ।

सरकारले ५३–५४ वर्ष उमेर समूहबाहेक विदेश जान भिसा लागेका, पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई समेत प्राथमिकतामा राखेको खोप कसरी ३१ वर्षको मान्छेले लगाउन पाए भन्ने प्रश्नमा स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले त्यहाँ खटाइएका स्वास्थ्यकर्मी, अस्पतालको मिलेमतो र स्थानीय जनप्रतिनिधिहरुको दबाबका कारण लगाइएको हुनसक्ने बताए ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पहिलो दिन सोमबार १९ हजार छ सय ७१ जनाले खोप लगाएका छन् । यस अभियानमा स्वास्थ्य कार्यालय काठमाडौंको एक लाख ४६ हजार पाँच सय २४ जनालाई खोप दिने लक्ष्य छ ।

मंगलबार ५१ र ५२ वर्ष उमेर समूहका नागरिकसँगै पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुले खोप लगाएका थिए ।

यस्तै आज बुधबार ५० वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुले जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्ति र ५१ देखि ५४ वर्ष उमेरका खोप लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया