Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुल आयातको न्यूनतम १० प्रतिशत कोरोना खोप निजी क्षेत्रलाई छुट्याउन चेम्बरको माग

कुल आयातको न्यूनतम १० प्रतिशत कोरोना खोप निजी क्षेत्रलाई छुट्याउन चेम्बरको माग


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कुल आयातको न्यूनतम १० प्रतिशत कोरोना खोप छुट्याउन सरकारसँग माग गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको एक प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी प्राथमिकताका आधारमा प्रदेश, जिल्ला नगर तथा गाउँस्तरका उद्योगी, व्यवसायी र उद्योग तथा यातायात क्षेत्रका मजदुरहरुलाई कोरोना लगाउने सुविधा उपलब्ध गराइदिन आग्रह गरेको हो ।

भेटमा चेम्बर अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नुपरेको बताए । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भई अर्थतन्त्रमा योगदान पुग्न जाने हुँदा निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप दिन उनले आग्रह गरे । साथै उनले अर्थतन्त्रलाई पुनर्स्थापित गर्न कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को पाँच प्रतिशत राहत प्याकेजको व्यवस्था गर्नुपर्ने बताए । सो रकम तीन प्रतिशत ब्याजदरमा उपलब्ध गराइनुपर्ने उनको भनाइ थियो ।

संसद्मा विचाराधीन आर्थिक विधेयकहरु पारित गर्न, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर सातदेखि आठ प्रतिशतभित्र र रुग्ण उद्योगको हकमा तीन प्रतिशतदेखि पाँँच प्रतिशतसम्म व्यवस्थापन गर्न, बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिकाअनुसार खर्च गर्न, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याउन र निर्यात अनुदान मूल्यअभिवृद्धिको आधारमा दिने व्यवस्था गर्न पनि उनले सरकारसँग आग्रह गरे । यसैगरी उनले विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याउन, लगानीको स्रोतको वैधतामा सरलीकरण गर्न, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न विशेष प्राथमिकता दिन पनि आग्रह गरे ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाई पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताए । अहिले अर्थतन्त्रमा धेरै चुनौतीहरु आएको र यसलाई सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्बोधन गर्न सकिने उनको भनाइ थियो । कोभिड खोपसम्बन्धी चेम्बरको मागबारे सरकार संवेदनशील रहेको पनि उनले बताए । निकट भविष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने बताउँदै उनले चेम्बरको माग सम्बोधन हुने बताए । उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्बरका सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डेको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया