Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशुपतिमा जलहरी लगाउँदा ११ किलो सुन गायब

पशुपतिमा जलहरी लगाउँदा ११ किलो सुन गायब


काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा ११ किलो सुन नै गायब पारिएको खुलेको छ । पशुपतिमा १०८ किलो सुनको जलहरी लगाउँदा राष्ट्रपतिलाई समेत ढाँटेर ११ किलो कम परिमाणको सुन लुकाई ९७ किलो मात्र सुन लगाइएको भन्दै अख्तियारमा उजुरी परेपछि सुन गायब पारिएको खुलेको हो ।

गत फागुन १२ गते राष्ट्रपतिबाट पुजा गरि उद्घाटन गरिएको जलहरीमा सुन कम लगाइएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले आर्थिक दैनिकलाई जानकारी दिए ।

अख्तियारमा परेको उजुरीमा जलहरी लगाउन सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन सचिव यादव कोइरालाको संयोजकत्वमा जलहरी निर्माण अनुगमन समिति समेत गठन भएको र उक्त समितिमा पुरातत्व विभागको महानिर्देशक, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, कार्यकारी निर्देशक, कोषका सदस्य राजु खत्री समेत रहेको टोलीले नै अनियमितता गरेको आरोप लगाइएको छ ।

अख्तियारमा दर्ता भएको आरोपमा भनिएको छ, ‘जलहरी लगाउने कार्य २०७७ फागुन ११ गते राति निर्माण सम्पन्न भएको र सो समयसम्म ९७ किलो मात्र सुन खपत भएको भनी उक्त समयमा निर्माण सम्पन्न मुचुल्का बनाइएको भए पनि भोलिपल्ट पशुपति क्षेत्र विकास कोषले राष्ट्रपतिद्वारा गराएको उद्घाटन कार्यक्रममा १०८ किलो सुन लगाएको भनी सार्वजनिक गरी सुन अनियमितता गरेको उल्लेख छ ।’

१०८ किलो सुनको जलहरी राख्ने काम सम्पन्न भइसकेर राष्ट्रपतिबाट समेत उद्घाटन गरिएको यति ठूलो कार्य सम्पन्न भइसक्दा समेत कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र सदस्यसचिव डा. प्रदिप ढकालको मिलेमतोमा ११ किलो सुन लुकाएर खाने प्रयास भएकोले कार्य सम्मन्न बैठक समेत आयोजना नगरिएको उजुरीमा भनिएको छ ।

कार्यकारी निर्देशक डा. खतिवडा र सदस्य सचिव डा. ढकालले बैठक नै नराखी बाहिर सुन हराएको विषयमा सार्वजनिक रुपमा नै कुराहरू आउन थालेपछि ढाकछोप गर्नको लागि केही सुनमा तामा मिसाएर किला बनाई मर्मतको नाउँमा बाँकी ११ किलो सुन खान लागेको भन्दै अख्तियारलाई त्यहाँ भएका जलहरी निर्माणमा संलग्न कागजातहरू, दाताहरुबाट उक्त कार्यको लागि प्राप्त भएको सहयोगको कागजातहरू, सर्जमिन मुचुल्काहरू समेत तत्काल नियन्त्रणमा लिन भनिएको थियो । अख्तियारमा परेको उजुरीसँगै अख्तियारले पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ ।

पशुपतिमा सरकारले सुधारका विभिन्न कार्यक्रमहरूमार्फत करोडौँ बजेट निकासा गरेपछि पशुपति क्षेत्र विकास कोषकै पदाधिकारीहरूलाई अनियमितताका आरोप लाग्न थालेको हो । केही समयअघि मात्र पशुपति मन्दिरको पश्चिम ढोकाको उत्तरतर्फ जडान गर्न लागिएको बत्तीमा समेत भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सरकारले रकम दिने तर पशुपतिको विकास गर्ने भनेर नियुक्ति लिएर शपथ लिनेहरूले नै अनियमितता गरेपछि उजुरी पर्ने क्रम बढेको छ । पशुपतिको नाममा यसअघि नियुक्त भएका व्यक्तिहरूले पनि विभिन्न नाममा अनियमितता गर्ने गरेको आवाज पटक–पटक उठ्ने गरेको थियो । कोषले पसल कबोलहरू भाडामा लगाउँदा पनि व्यापक अनियमितता हुने गरेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया