Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपीसीआर गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई कोरोना

पीसीआर गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई कोरोना

अझै करिब २७ हजार कोरोनाका बिरामी


काठमाडौं ।
नेपालमा पीसीआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई संक्रमण भइरहेको छ । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा संक्रमण देखिएको छ । यसले नेपालमा कोरोनाको संक्रमण उच्च रहेको संकेत गरेको छ । पछिल्लो समयमा कोरोना संक्रमण घट्ने अनुमान गरिए पनि स्थिर रहेको कारण स्वास्थ्यसँग सम्बन्धित अधिकारीहरूले तेस्रो लहर प्रवेश हुने आशंका गरेका छन् ।

बुधबारसम्म अझै कोरोनाका सक्रिय संक्रमितको संख्या करिब २७ हजार रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २६ हजार आठ सय ३२ जना कोरोनाका सक्रिय बिरामी छन् । अहिले नेपालमा कोरोनाको संक्रमण दर १९ दशमलव दुई प्रतिशत छ ।

बुधबार मात्र देशभर दुई हजार आठ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार छ सय १६ जनामा परीक्षण गर्दा दुई हजार आठ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार आठ हजार सात सय १५ जनाको पीसीआर र तीन हजार नौ सय एक जनामा एन्टिजेन परीक्षण गरिएको थियो । बुधबार पुष्टि भएको नयाँ संक्रमितसँगै देशभर कोरोना बिरामीको संख्या सात लाख २४ हजार चार सय ५५ पुगेको छ भने छ लाख ३६ हजार चार सय दुई जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार मात्रै स्वास्थ्य लाभ गरेर घर फर्किनेको संख्या एक हजार चार सय ७५ पुगेको छ । योसँगै घर छ लाख ३६ हजार चार सय दुई जना घर फर्किएका छन् । यस्तै बुधबार ३० जनाको कोरोना संक्रमणको कारणले निधन भएको छ । योसँगै नौ हजार छ सय ३७ जना संक्रमणको कारणले निधन भएका छन् । प्रति १० लाख जनसंख्यामा तीन सय २४ दशमलव आठ जनाको निधन भएको छ ।

नेपालमा २४ हजार तीन सय ४० जना होम आइसोलेसन, दुई हजार चार सय ९२ जना संस्थागत आइसोलेसन, छ सय २७ जना सघन उपचार कक्ष र एक सय ७१ जना भेन्टिलेटरमा रहेका छन् । काठमाडौँ उपत्यकामा बुधबार मात्रै छ सय ९७ जना संक्रमित थपिएका छन् । ललितपुरमा एक सय २८ जना, काठमाडौँमा चार सय ९० र भक्तपुरमा ७९ जना संक्रमित थपिएका हुन् ।

अहिले पनि अस्पतालमा कोभिड–१९ का संक्रमित आउने क्रममा कमी नभएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोभिड–१९ संक्रमण निको भए पनि मासपेशी दुख्ने, जोर्नी दुख्ने, मानसिक समस्या हुनेजस्ता समस्या देखिने गरेकाले समयमा नै उपचार गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया