Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसबैलाई निःशुल्क खोप पहिलो प्राथमिकता : प्रधानमन्त्री

सबैलाई निःशुल्क खोप पहिलो प्राथमिकता : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड—१९ विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल उद्योग परिसंघको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताए ।

‘विकासलाई हामीले प्राथमिकता दिएका छौंँ तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो’, उनले भने, ‘महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यसकारण हाम्रो पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो ।’ साथै उनले कोरोना महामारीविरुद्ध सरकारले अघि बढाएको अभियानमा हातेमालो गरेर अघि बढ्न सबै उद्योगी व्यवसायीहरूलाई आग्रह गरे । प्रधानमन्त्री देउवाले नवनियुक्त अर्थमन्त्री उत्साही व्यक्ति भएकोले उनले कोभिडको अवस्थाले अप्ठ्यारोमा रहेको मुलुकको अर्थतन्त्रलाई अघि बढाउन भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे । यस्तै उनले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवर्द्धन गर्ने बताए ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको उल्लेख गरे । परिसंघले अघि बढाएको मेक इन नेपाल— स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने उनले बताए । अभियानले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै उनले सरकार अभियानको साथमा रहेको बताए ।

‘आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार हो’, उनले भने, ‘देशभर साना तथा मझौला उद्योगहरुको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिन्छ, त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्नेछ ।’ हाल दुई खर्ब १५ अर्बबराबरको कृषिजन्य वस्तुको आयात रोक्ने अभियान चलाउन थालिएको जानकारी समेत दिए । मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने सरकारको सोच कार्यान्वयनको लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले निर्यातमुखी अर्थतन्त्रको विकास गर्न उत्पादित वस्तुको गुणस्तर र मूल्यको सन्तुलन कायम हुनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री शर्माले कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी राहत तथा पुनस्र्थापनासहितको प्याकेज ल्याउने तयारी भइरहेको समेत जानकारी समेत दिए । साथै उनले नेपाललाई दुई दशकभित्र गरिबीमुक्त गर्न सकिने बताए । चुनौतीपूर्ण अवस्थाका बीच उज्ज्वल सम्भावना रहेको भन्दै उनले युवा बहुल जनसंख्या भएको देशमा विकासको गतिलाई तीव्रता दिन सकिने उल्लेख गरे ।

यसैगरी परिसंघका अध्यक्ष एमिरेटस विनोद चौधरीले परिसंघले महत्वपूर्ण थिंक ट्यांकको रुपमा काम गरिरहेको बताए । उनले विश्वका सफल उदाहरणहरु हेरेर परिसंघका गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउने उल्लेख गरे । चौधरीले २०४६ सालको परिवर्तनसँगै सुरु गरिएको आर्थिक सुधारले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजस्व परिचालनमा ठूलो योगदान गरेको भन्दै दोस्रो चरणको सुधार आवश्यक भएको बताए । यस्तै नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक भएको बताए । उनले भारत सरकारले पनि लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको उदाहरण प्रस्तुत गरे ।

साधारणसभामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाको रुपमा परिसंघलाई अघि बढाएको बताए । अर्थतन्त्रको पुनरुत्थानका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्ने उल्लेख गरे । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडविरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे । उनले आर्थिक विकासको महत्वपूर्ण स्तम्भको रुपमा निजी क्षेत्र रहेकाले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह पनि गरे । कार्यक्रममा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानबारे प्रस्तुतीकरण दिएका थिए ।

युनियन अफ एसियन चेम्बर्सको शुभारम्भ : परिसंघको साधारणसभामा प्रधानन्त्री देउवाले युनियन अफ एसियन चेम्बर्सको शुभारम्भ समेत गरे । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको हो । युनिएन अफ एसियन चेम्बर्सको नेतृत्व अहिले परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन् । कार्यक्रममा चौधरीले एसियाली देशहरुमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको उल्लेख गरे ।

परिसंघको अध्यक्षमा अग्रवाल : नेपाल उद्योग परिसंघको अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चुनिएका छन् । यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल १८औँ वार्षिक साधारणसभाबाट अध्यक्ष चयन भएका हुन् । उनले यसअघि परिसंघअन्तर्गतको योङ इन्टरप्रेनर फोरम र परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसकेका छन् । पूर्वफुटबल खेलाडी समेत रहेका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर हुन् । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्धनिर्देशक समेत हुन् ।

यस्तै परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यसमध्ये सात जना उपाध्यक्ष चयन हुनेछन् । राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, सुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, विक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई परिषद सदस्य चयन भएका छन् ।

यसैगरी प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीव कुमार गुप्ता, राज बहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया