Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसांसद पदमा पुनर्बहालीको माग गर्दै रिट निवेदन दायर

सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट निवेदन दायर


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट नेकपा एमालेमा प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषण तथा परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी सांसद पद पुनर्बहालीका माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । उनीहरूले नेकपा (माओवादी केन्द्र), निर्वाचन आयोग, सङ्घीय संसद् सचिवालय, माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्ष बनाई रिट दायर गरेका हुन् ।

रिट निवेदनमा आफूहरू २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा संविधानको धारा ८४ (१) को (क) बमोजिम निर्वाचित भएको र संविधानको धारा ८५ बमोजिम निर्वाचित भएको मितिले पाँच वर्षसम्म रहने व्यवस्थाअनुसार आफूहरू सो पदमा रहनुपर्ने माग गरिएको छ ।

नेकपा (एमाले)मा उनीहरू चारै जना प्रवेश गरेपछि माओवादी केन्द्रले सांसद पद मुक्त गरेको थियो । रिट निवेदनमा संविधान र प्रचलित कानुनले निर्धारण गरेको आधारविना नै सांसद पद रिक्त गर्न गरिएको निर्णय संवैधानिक र कानुनी व्यवस्था प्रतिकूल रहेको उल्लेख गरिएको छ । उनीहरूले दल त्याग गरेको आधारमा आफ्नो सांसद पद रिक्त गरिएको नभई दल त्यागको आरोप लगाई दलबाट निष्काशन गरिएको उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया